काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि आज साँझ ५ बजे संवैधानिक परिषदको बैठक बस्दैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुने बताइएको छ । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन १९ गते अनिवार्य अवकाश हुँदैछन् । कार्की अवकास हुने भएप्छि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न लागिएको हो ।

संविधानको धारा २८४ को उपधारा ३ अनुसार प्रधानन्यायाधीशको अवकास हुनुभन्दा एक महिना अगाडि नै नयाँ नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, सो अवधि एक महिना ढिलाइ भइसक्दासमेत नयाँ प्रधानमन्यायाधीश सिफारिस हुन सकेको छैन । प्रधानन्यायाधीश सिफारिस हुन नसक्दा सरकारको समेत आलोचना भइरहेको छ ।
प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा गत मंगलबार संवैधानिक परिषद बैठक बसेको थियो । तर, मंगलबार नियुक्ति सिफारिस हुन नसकेपछि आजका लागि बैठक तय गरिएको थियो । वरिष्ठताको आधारमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भावी प्रधानन्यायाधीशको रोलक्रममा पहिलो नम्बरमा छन् ।
सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएका व्यक्ति प्रधानन्यायाधीश बन्न योग्य हुने व्यवस्था छ । सर्वोच्चमा हालसम्म वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने परम्परा छ ।
त्यसअनुसार प्रधानन्यायाधीश बन्ने लाइनको पहिलो नम्बरमा सर्वोच्चका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् । दोस्रोमा ईश्वरप्रसाद खतिवडा तेस्रोमा डा। आनन्दमोहन भट्टराई रहेका छन् ।
त्यसपछि क्रमसः अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फूयाल र मनोजकुमार शर्मा रहेका छन् ।
माथिका ११ न्यायाधीशमध्येबाट आज एक जनाको नाम सिफारिस हुनेछ । त्यसपछि संसदीय सुनुवाइमार्फत सरकारले आगामी प्रधाननन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनेछ ।














