हेटौंडा । बागमती प्रदेश सरकारका मन्त्री रामकृष्ण चित्रकारलाई आइतबार मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मन्त्री बनेको लामो समयपछि चित्रकारले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

प्रदेश सरकारका ११ मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी १२ वटा मन्त्रालय बनाइएको छ । नयाँ मन्त्रालयका रुपमा स्थापित उद्योग तथा सामान्य प्रशासन मन्त्रालय स्थापना गरी मन्त्री चित्रकारलाई सोही मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
नेपाली कांग्रेसका प्रदेश संसदीय दलका उपनेतासमेत रहेका मन्त्री चित्रकारले मन्त्री नियुक्त भएयता जिम्मेवारी पाउन सकेका थिएनन् । कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी उनलाई जिम्मेवारी दिनुपर्ने माग गर्दै आएपनि माओवादी केन्द्रले आफ्नो भागमा परेको सो मन्त्रालय विभाजन गर्न अस्वीकार गर्दै आएको थियो ।
अन्ततः कांग्रेसकै भागमा रहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी मन्त्री चित्रकारलाई जिम्मेवारी तोकिएको उनकै सचिवालय स्रोतले रातोपाटीलाई जानकारी दिएको हो ।














