Logo
Logo

युएईमा २५ नेपाली कामदार बन्धक, दिएन पौने तीन करोड पारिश्रमिक


1.5k
Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि युएईको अवुधाबी पुगेका २५ जना नेपाली कामदारलाई त्यहाँको एक कम्पनीले बन्धक बनाएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को अवुधाबी मुसफास्थित अल फलाह सेक्युरिटी सर्भिस र नाइट्सब्रिज ग्लोबल सेक्युरिटी सर्भिस कम्पनीले ती नेपाली कामदारलाई काम गरेबापत पाउनु पर्ने तलब, ओभरटाइम भत्ता र इन्ड अफ सर्भिस ९उपदान० को रकमसमेत नदिई बन्धक अवस्थामा राखेको हो ।

सेवा सुविधाबाट वञ्चित गर्दै गैरकानुनी रूपमा बन्धक बनाइएका नेपालीहरूमा दिनेश उप्रेती, देवप्रसाद पुलामी, शिवराम गिरी, सुशील लामिछाने, पासाङ लामा, प्रितम थापामगर, इन्द्रबहादुर बस्नेत छन् । यस्तै कृष्ण बहादुर विश्वकर्मा, प्रदीप विष्ट, उज्ज्वल रेग्मी, समित सिंह, डिकबहादुर कार्की, मीन कुमार राई छन्।

दिलानन्दसिहं धामी, रेशमबहादुर मगर, सन्तोष थापा, सुरेन्द्र बुढाथोकी, आत्मराम भण्डारी, किशोर शाही, विवेक शिवा, मिनराज गिरी, राजेश भट्ट, विक्रम पन्त र विशाल क्षेत्री रहेका छन् ।

बन्धक बनाइएकाहरू अधिकांशको भिसाको अवधि सकिएका छन् । जसकारण ‘ओभर स्टे’ भएर क्याम्प बाहिर हिँडडुल गर्न नपाउने अवस्थामा छन् । पीडित नेपालीहरूले आफूहरूले पाउनुपर्ने रकम दिलाउन मागसहित अवुधाबीस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् ।

१२ वर्ष अघिदेखि काम गरिरहेका नेपालीलाई काम छाडेर स्वदेश फर्किँदा दिनुपर्ने सामाजिक सुरक्षाबापतको ठुलो रकम समेत नदिइकन बन्धक बनाइएको छ । २५ नेपालीले विभिन्न सेवा सुविधा वापत करिब पौने तीन करोड (७,५८,९३९) दिराम रकम भुक्तानी पाउनुपर्ने पीडितहरुको गुनासो छ ।

‘हामी विगत १० महिनादेखि बेरोजगार भई क्याम्पमा बन्दी बस्नुपरेको छ । यसरी बस्दा मानसिक आघात, फ्रस्ट्रेसन, डिप्रेसनको सिकार बनेका छौँ। यहाँ आएर आर्थिक उपार्जन गरी घर व्यवहार धान्नुपर्ने हाम्रो जिम्मेवारी कम्पनी कै लापरबाही र बेवास्ताका कारण भताभुङ्ग बनेको छ । त्यसैले राजदूतसँग हामीले पाउनुपर्ने सम्पूर्ण इन्ड अफ सर्भिस रकम र १० महिनासम्म विनाकाम क्याम्पमा बन्दी बनाई राखेको हुँदा त्यसको क्षतिपूर्ति समेत दिलाई दिन पूर्ण आशाका साथ सविनय अनुरोध गर्दछौँ,’ बन्धक बनाइएका श्रमिकले युएईस्थित नेपाली राजदूतलाई बुझाएको निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्