
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर विप्लपले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेटमा उनीहरुबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कार्यान्वयनका विषयमा छलफल भएको बताइएको छ । सो क्रममा विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म एमसीसी कार्यान्वयन नगर्न आग्रह गरेका थिए ।
जवाफमा प्रधानमन्त्रीले कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने बताएको नेकपाका नेता अनिल शर्माले जानकारी दिए । नेता शर्माका अनुसार विप्लवले एमसीसी यथास्थितीमा कार्यान्वयनमा गए माओवादी केन्द्र र समाजवादी मोर्चासँगकाे सहकार्य ताेड्ने चेतावनी समेत दिएका छन् ।
विप्लवले एमसीसी कुनै पनि हालतमा कार्यान्वयनमा जान नदिने बताउँदै आएका छन् । एमसीसी परियोजना बुधबारदेखि कार्यान्वयन चरणमा प्रवेश गर्दैछ।














