सुर्खेत । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्था रहेसम्म मुलुकको विकास नहुने बताएका छन् । बिहीबार समाजवादी मोर्चाले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको सभामा उनले संसदीय व्यवस्था त्याग्दै वैज्ञानिक समाजवादको दिशा तय गर्नुपर्ने बताएका हुन् ।

नेपाललाई यहाँसम्म पु¥याउने माओवादी भएको दावी गर्दै उनले भने, ‘नेपाली जनताको त्याग र नेताहरूको योग्दानले मुलुक परिवर्तन भएको छ । मोर्चाभित्रका दलका आफ्नै उद्देश्य छन् । तर, विश्व राजनीतिक ध्रुवीकरणले नेपालमा प्रभाव पार्दैछ । यसले देशमा जटिल परिस्थिति निम्त्याएको छ ।’
महासचिव विप्लवले प्रतिगामी र पश्चगामी तत्वहरूले नेपाली जनतामा भ्रम फिँजाइरहेको बताए । उनले यही परिस्थितिलाई ध्यानमा राख्दै सुसंगठित मोर्चा आवश्यक ठानेर समाजवादी मोर्चा बनाएको बताए । उनले भने, ‘क्रान्तिबाट हासिल भएको परिवर्तनको रक्षा गर्नु, देशलाई २१औं शताब्दीमा उपनिवेशमा पार्न खोज्ने तत्वविरुद्ध लड्न स्वाधीनताको रक्षा गर्नु मोर्चाको प्रमुख उद्देश्य हो ।’
सामन्तवादलाई पछारे पनि जनयुद्धको सपना पूरा नभएको बताउँदै उनले भने, ‘हामी जनयुद्धको बेला सफल संरचनालाई देशको संरचनामा बदल्न चाहन्थ्यौँ । तर, अहिलेको संरचना जनयुद्धको बेलाजस्तो सफल देखिएन ।’ विप्लवले आजको क्रान्तिको रक्षा र क्रान्तिको पूर्णताका लागि समाजवादी मोर्चा बनेको दावी गर्दै भने, ‘आजको संसदीय व्यवस्था रहेसम्म नेपाल सफल हुन सक्दैन ।’














