सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चाभित्र केन्द्रदेखि तल्लो तहसम्म सौहार्दपूर्ण वातावरण हुनुपर्ने बताएका छन् । बिहीबार समाजवादी मोर्चाले सुर्खेतमा आयोजना गरेको सभालाई स्म्बोधन गर्दै अध्यक्ष नेपालले मोर्चाको नेतृत्व तहदेखि कार्यकर्ता तहसम्म विश्वास र समझदारी हुनुपर्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने, ‘सबै तहमा राम्रो विश्वास र समझदारी भएन भने मोर्चा टिक्न सक्दैन । त्यसैले सबै तहमा समझादारी हुन आवश्यक छ ।’
समाजवादी मोर्चाको संयोजकसमेत रहेका अध्यक्ष नेपालले एकतासहितको शक्तिले परिवर्तन ल्याउने उद्देश्यले मोर्चा गठन गरिएको बताए । अध्यक्ष नेपालले मोर्चा बलियो भए अगाडि बढेको खण्डमा वर्तमा सरकार नढल्ने बताए । उनले भने, ‘यदि मोर्चा बलियो भएर अगाडि बढ्यो भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्दैन ।’
उनले वर्तमान सरकार भ्रष्टाचारविरूद्ध खरो उत्रिएका कारण जोगाउनुपर्ने समेत बताए । ‘हामी समाजवादी मोर्चाभित्रका दल र काँग्रेस एक भयौं भने अहिलेको सरकार ढल्दैन’ अध्यक्ष नेपालले भने, ‘अहिलेको सरकारले खोलेका भ्रष्टाचारका फाईल टुंगोमा पु¥याउनुछ ।’
मोर्चामा आवद्ध हुन अन्य दललाई पनि आग्रह गर्दै अध्यक्ष नेपालले भने, ‘विदेशीको दासता हामीलाई स्वीकार्य छैन । विदेशीले हस्तक्षेप गर्न खोज्छन् भने हामी यो मोर्चा त्यसको विरोधमा उत्रिन्छ ।’














