काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न १७ जना प्रतिवादीको बयान सकिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् ।

जिल्ला अदालत काठमाडौका एक न्याययाधीशमा अनुसार अन्तिममा समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको बयान लिइएको छ । बालुवाटारको जग्गा हिनामिनामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १८ जनालाई पक्राउ गरेको थियो ।
आज बयान सकिएपछि आइतबारदेखि सो मुद्दाको थुनछेक बहस सुरु हुने बताइएको छ । यही भदौ ११ बाट थुनामा रहेको प्रतिवादीहरुको बयान सुरु भएको थियो ।
बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सरकारी वकिलले जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भएका २१ जनालाई पनि प्रतिवादी कायम गरेको छ ।














