रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको आगामी नेतृत्व पनि केपी ओलीभन्दा अरुबाट नहुने बताएका छन् ।
बुटवलमा शनिवार आयोजित एमाले प्रदेश अधिवेशनलाई सम्बाधेन गर्दै नेता पौडेलले भने, ‘एमालेमा नीति र नेतृत्वको विषयमा कुनै समस्या छैन । हामी नीतिमा स्पष्ट छौँ, नेतृत्वमा केपी शर्मा ओलीको विकल्प छैन, उहाँकै नेतृत्वमा पार्टीले मिसन ८४ बनाएको छ, त्यसमा कोही कसैले कुण्ठित विचार नराखे हुन्छ ।’

उनले एमालेभित्र विधि र नीतिको विषयमा कुनै विमति नभएको, नेतृत्वको विषयमा कुनै विवाद नभएकाले विवाद ल्याउने कोसिस पानीको फोकाजस्तै हुनेसमेत बताए ।
उनले एमालेमा एमालेमा विग्रह चाहने अवसरवादीहरूका विषयमा एमाले प्रष्ट रहेको बताउँदै भने, ‘पार्टी र गुट विपरीत हुन्, हामीले गुट बन्न नदिने तरिकाले अगाडि बढाएका छौँ । एमालेभित्र गुटको चर्चा गरेर बस्ने छुट कसैलाई छैन ।’
एमालेले जित्नै पर्ने क्षेत्र गुमाएका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै नेता पौडेलले भने, ‘विगतका अनुभव, कमजोरीको समीक्षा हुनुपर्दछ, एमालेमा रहेर विरोधीसँग गठजोड गर्ने, सक्रिय नहुने, जिम्मेवारी पूरा नगर्नेलाई अब छुट हुनेछैन ।’














