काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरेको जनाएको छ ।
मेयर साहले शनिबार राति फेसबुकमार्फत महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । त्यसलगत्तै उत्तेजक अभिव्यक्ति दिएको भन्दै सार्वजनिक रुपमा बालेनको आलोचना सुरु भएको थियो । त्यसै सन्दर्भमा आइतबार बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएको हो ।

मेयर साहको सचिवालयका अनुसार बालेन दम्पतीका शिशु मेडिसिटी अस्पतालमा एनआईसीयूमा उपचाररत छन् । शनिबार साँझ बालेनकी पत्नी सविनाको स्वास्थ्यमा जटिलता देखिएपछि बालेनले चढ्ने महानगरको गाडीमा अस्पताल गएकी थिइन् ।
आफ्नो स्वास्थ्य परीक्षण गर्नुका साथै शिशुलाई स्तनपान गराएर घर फर्किँदा सविना चढेको गाडीलाई कोटेश्वरमा चेकजाँचमा बसेको ट्राफिक प्रहरीले रोकेको थियो । त्यसक्रममा प्रहरीले दुर्व्यवहार गरेको मेयर बालेनको सचिवालयले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नगर प्रमुखसहितको परिचय खुलाएपश्चात प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो, प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत ख्याल नगरी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न ग¥यो ।’
प्रश्रव पीडा र शारीरिक समस्यामा रहेकी सविनामाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दीय भएको बालेनको स्वकीय सचिवालयले जनाएको छ ।















