
काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट गत असार २१ गते पारित गरेसँगै अर्को सूचना नभएसम्मका लागि स्थागित गरिएको बैठक आज (सोमबार) दिउँसो १ः३० बजे बस्न लागेको हो ।
लामो समयसम्म स्थगित भएको प्रदेश सभा बैठक ६० औं दिनमा आजको लागि आव्हान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बिजनेसबिहीन अवस्थामा रहेको प्रदेश सभाको बैठक प्रमुख विपक्षी दल लगायत प्रदेश सभाका सदस्यको मागपछि बस्न लागेको हो ।
बागमती प्रदेश सभामा तीनवटा विधेयक दर्ता भएका छन् । प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा तीनवटा विधेयक दर्ता गराएको छ । लामो समयसम्म बिजनेसविहीन भएको प्रदेश सभामा ऐन संशोधनका लागि नयाँ विधेयक दर्ता गरिएका हुन् ।
प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएका छन् ।














