Logo
Logo

२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रियता एकता दिवस सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २८ पुस । २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी भव्यतापूर्वक मनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रूपमा विविध सांस्कृतिक झाँकीसहित बाजागाजाका साथ पुस २७ गते बिहान पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस शोभायत्रासहित सिंहदरबार पश्चिम ढोकामा पुगी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको प्रतिमामा माल्यर्पण गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गरेको थियो ।

राष्ट्रनिर्माताको प्रतिमामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङ, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य, सांस्कृतिक संस्थाका अध्यक्ष प्रेमनाथ अधिकारी, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले माल्यर्पण गरी श्रद्धा अर्पण गर्नुभएको थियो । यसै गरी प्रज्ञा–प्रतिष्ठानहरूका उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद् सदस्यहरू, प्राज्ञ सभा सदस्यहरू, आजीवन सदस्यहरू एवम् स्रष्टा–सर्जक र अन्य नागरिकहरूले माल्यर्पण गर्नुभएको थियो ।

प्रज्ञा भवन परिसरबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले रिबट काटी औपचारिक रूपमा सुभारम्भ गर्नुभएको शोभायात्रा कमलादी, घन्टाघर, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार पश्चिम ढोका पुगेको थियो । राष्ट्रनिर्माताको प्रतिमामा माल्यर्पण र श्रद्धा अर्पण गरी शोभायात्रा पुनः प्रज्ञा भवन पुगेर समापन भएको थियो ।

शोभायात्रामा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेनाको बग्गी, नेपाली सेनाको न्याउली बाजा, नेपाल प्रहरीको ब्यान्ड बाजा, जोर नगरा, हुड्केली, पोङ्गा बाजा, धिमे बाजा, भुस्या, बाँसुरी, मादल, गुँला बाजा, शादूृलजङ्ग पल्टन, ग्यालिङबाजा, वटुक, पञ्चकन्या, आशा–गुर्जा, नारायण हरि हरि, सोरठी, कौरा, सेलो, थारु र साकेला नृत्यका साथै रेडक्रसको समूह सहभागी थिए ।

शोभायात्राको सुभारम्भ गर्दै संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले पृथ्वीनारायण शाहले अनेक खण्डमा विभाजन भएका नेपालका भूभागहरूलाई एकीकरण गरी नेपालको निर्माण गरेकाले उनको योगदानलाई नेपाल र नेपाल जनताले स्मरण गरिरहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “साम्राज्यवादी शक्तिलाई समेत पराजित गरेर पृथ्वीनारायणले नेपाल र नेपालीको अस्तित्व बचाए । नेपाल सबै जातको साझा फूलवारी हो भन्ने पृथ्वीनारायण शाह नेपाल एकीकरणका महानायक हुन् । राष्ट्रप्रतिको उनको योगदान सदा स्मरणीय छ ।” मन्त्री भट्टराईले पृथ्वीनारायण शाह समावेसी सपना २५० वर्षपछि संविधानसभाले नेपालको संविधान जारी गरेपछि पूरा भएको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङले शोभा यात्रामा सहभागी सबैलाई धन्यवाद दिँदै शोभायात्राको समापन गर्नुभएको थियो ।

हाम्रो बाजाः हाम्रै धुन
पुस २७ गते अपरान्ह २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकै अवसरमा आयोजक चार वटै संस्थाको आयोजना तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयोजनमा प्रज्ञा भवनको प्रेक्षालयमा नेपाली मौलिक लोकबाजाहरूको प्रस्तुति ‘हाम्रो बाजाः हाम्रै धुन’ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि संस्कृति मन्त्री योगेश भट्टराई हुनुहुन्थ्यो ।

राष्ट्रि सांस्कृति महोत्सव
पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकै अवसरमा साँझ सांस्कृति संस्थानको संयोजनमा राष्ट्रिय नाचघर, जमलमा सातै प्रदेशमा प्रचलित लोकनृत्यहरूको प्रस्तुति सहित ‘राष्ट्रिय सांस्कृतिक महोत्सव’ आयोजना गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि संस्कृति मन्त्री योगेश भट्टराई हुनुहुन्थ्यो ।

यसअघि पुस २५ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजनमा प्रज्ञा भवनमा ‘पृथ्वीनारायण शाह र अन्तरहिमाली भूराजनीति’ विषयक विचार गोष्ठीको आयोजना गरिएको थियो । यसै गरी पुस २६ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘कला प्रदर्शनी’को आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्