Logo
Logo

नेपाल र भारतबीच खेल हुने मैदान क्षेत्रमा बिहानैदेखि वर्षा


8.8k
Shares

काठमाडौं । जारी एसिया कप क्रिकेटअन्तर्गत आज सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुने तालिका छ । तर, खेल हुने श्रीलंकाको पल्लेकेले रंगशाला क्षेत्रमा अहिले वर्षा भइरहेको छ ।नेपाल र भारतबीच खेल हुने मैदान क्षेत्रमा बिहानैदेखि वर्षा

पल्लेकेले रंगशाला रहेको क्यान्डी क्षेत्रमा आज बिहानदेखि नै वर्षा भइरहेको छ । त्रिपालले मैदान ढाकिएको छ । नेपाल र भारतबीचको खेल दिउँसो सवा ३ बजे सुरु हुँदैछ । तर, सो समय त्यस क्षेत्रमा वर्षा हुने सम्भावना ८० प्रतिशत रहेको त्यहाँको मौसम विभागले जनाएको छ ।

भारतविरुद्ध पहिलोपटक मैदान उत्रिन लागेको नेपाल जित्नै पर्ने दबाबमा छ । प्रतियोगिताको अर्को चरण (सुपर–फोर)मा पुग्न नेपालले भारतसँगको खेल जित्नै पर्नेछ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो। भारतले भने पहिलो खेलमा पाकिस्तानसँग १–१ अंक बाँडेको थियो। पल्लेकेले रंगशाला नै भएको भारत र पाकिस्तानको खेल वर्षाका कारण स्थगित भएपछि दुवै टोलीले अंक बाँडेका थिए ।

नेपालले भारतको यु–१९ र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको छ । करिब २ महिना अगाडि मात्रै एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतको टीम ‘ए’सँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल भारतको टीम ‘ए’सँग ९ विकेटले पराजित भएको थियो ।

वर्षाका कारण खेल रद्द भएको अवस्थामा नेपाल र भारतले अंक बाँड्नुपर्नेछ । अंक बाँड्नु परेको अवस्थामा भारत स्वतः सुपर–फोरमा पुग्नेछ ।

यसअघि पाकिस्तानसँगको खेल हारेको नेपाल अंकतालिकाको पुछारमा छ । पाकिस्तान ३ अंकसहित सुपर–फोरमा पुगिसकेको छ । भारत एक अंकसहित दोस्रो नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस्