
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई रोक्न अनेक षड्यन्त्र भइरहेको बतएका छन् ।
आज काठमाडौंमा आयोजित ज्यापू समाज यलको ३० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारलाई प्रभावकारी ढंगबाट अन्त्य नगरी सुशासन सम्भव नभएको बताए ।
उनले भने, ‘भ्रष्टाचार, तस्करी, कमिसनखोर, कानूनको उल्लंघन गर्नेहरूलाई दण्डित गरेर नेपालमा शान्ति सुरक्षाको व्यवस्था नगरेसम्म विकास र समृद्धिले फड्को मार्ने सम्भावना भएन। अहिलेको सरकारले समृद्धिको अभियानको लागि भ्रष्टाचारविरोधी अभियान अगाडि बढाएको छ।’
सरकारको भ्रष्टाचार विरोधी अभियानलाई जनताका समर्थन गरेको पनि उनले बताए। तरयसलाई असफल पार्न विभिन्न षड्यन्त्र भइरहेको उनले बताए । उनले भने, ‘सुशासनको अभियान अगाडि नबढोस्, फेरि तैँ चुप मैचुप होस्, जस्तो पहिला थियो अहिले त्यस्तै यथास्थिति कायम होस्। पद मात्रै खाएर बसिराखोस् नयाँ प्रकारका षड्यन्त्र र तिकडमहरू भइरहेका छन्। म कबुल गर्न चाहन्छु। हामी विश्राम लिनेछैनौँ। सुशासनको अभियानलाई जारी राख्नेछौँ।’














