
काठमाडौं। पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संविधानसभा अध्यक्ष एवं पुर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज शोक वक्तव्य जारी गर्दै उनले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्वसभामुख सापकोटाले स्मरण गरे । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने उनको चाहना अधुरै रहेको सापकोटाले बताए ।
संसदमा विचाराधीन सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी संशोधित विधेयक पारित गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने सम्बन्धमा चार दिन नेम्वाङसँग टेलिफोन वार्तालाभ भएको सापकोटाले सुनाए ।
नेम्वाङले संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले संसद्मा पनि उनले सन्तुलित भूमिका खेलेको बताए । एमालेको उपाध्यक्षसमेत रहेका नेम्वाङ अन्तरिम संसद् र संविधानसभा गरी ९ वर्ष सभामुख-अध्यक्ष भएका थिए । उनको सोमबार राति ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।














