काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसवर्ष बजेटमा उत्पादन र रोजगारीको पाटोलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । समृद्धि, सम्भावना र चुनौती लगायतका बिषयमा काठमाडौंमा बुधबार आयोजित ‘नेपालभ्युज कन्क्लेभ’मा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

नेपाल भ्यूजडटकमको तेस्रो वार्षिकीको सन्दर्भमा डिजिटल हाउस प्रालिद्वारा आयोजित कन्क्लेभमा प्रधानमन्त्री प्रचण्डले बजेटमा निजी क्षेत्रको सुझाव नसमेटिएको भन्ने कुराको जवाफ दिँदै पुँजी निर्माण र मौद्रिक नीतिमा धेरै छलफल गरेरमात्र निष्कर्षमा पुगिएको स्पष्ट पारे ।
विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने नीति लिएको र देशमा लगानीका सम्भावनाहरूलाई हरसमय खुला राख्ने पक्षमा सरकार रहेको उनले बताए ।
‘म प्रधानमन्त्री बन्दै गर्दा देशको अर्थतन्त्र डामाडोल थियो । तर, अहिले धेरै सुधार आएको छ । तैपनि यत्तिले पुग्दैन । सुधारका पहल भइरहेको छ’ उनले भने । प्रधानमन्त्री प्रचण्डले एकपटक आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको पनि बताए । कोरोना महामारीबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने उनको भनाइ छ ।
देशको अर्थतन्त्र अप्ठेरोमा रहेका बेला निजी क्षेत्रका तर्फबाट मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान बनाइएको र यसले सकारात्मक सन्देश गएको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले आफूले जनताको गुनासो सुन्ने प्रभावकारी माध्यम हेलो सरकार ल्याइएको र व्यवस्थापन गरिएको भन्दै राम्रो गर्न खोज्नेको खुट्टा नतान्नसमेत आग्रह गरे ।














