
काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१ मा स्थित सन्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि कुटपिट भएको छ ।
आफन्तको मृत्यु भएको निहुँमा हेटौँडाका पदम पोखरीका केहि युवाहरूको समूहले अस्पताल भित्र छिरेर डाक्टरहरु डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका हुन् ।
एक महिना अघि हेटौँडा पदमपोखरीका एक जना पुरुषको डेङ्गुको कारण मृत्यु भएको थियो । उनको मृत्यु डाक्टरको लापरबाहीले भएको भन्दै युवाको समूहले थापा र विडारीमाथि हातपात गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
डेङ्गु र श्वास प्रश्वासको समस्या लिएर उपचारमा आएका एक जना बिरामीको सन्चो अस्पतालमा उपचार गरिएको र चितवनमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मृत्यु भएको एक महिनापछि उनका आफन्त सहितका युवाहरू अस्पताल प्रवेश गरेर दुई जना डाक्टरमाथि कुटपिट गरेको प्रहरीको भनाई छ । हातपातबाट डा. विडारीको आँखा र अनुहारमा चोट लागेको छ भने डा. थापाको गाला र अनुहार सुनिएको छ ।














