Logo
Logo

खेलाडीसँग प्रधानमन्त्रीको प्रतिवद्धता- घोषित पुरस्कार छिट्टै उपलब्ध गराइने छ


756
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरिएका पुरस्कार खेलाडीले अझैसम्म नपाएको विषयले आफूलाई गम्भीर बनाएको बताएका छन् । बिहीबार १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीको बिदाइ कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । सोक्रममा उनले घोषित पुरस्कार खेलाडीलाई छिट्टै दिलाइने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको भन्ने समाचारले मलाई गम्भीर बनाएको छ । छिट्टै यो समस्या समाधान गरिनेछ ।’ उनले खेलाडीहरुको मनोबल र वृत्ति विकासलाई सरकारले सधैं प्राथमिकतामा राख्ने बताउँदै त्यसमा विश्वस्त रहनेसमेत खेलाडीहरुलाई आग्रह गरे ।

नेपालले मार्सल आर्टमा विगतमा राम्रो सफलता हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसपटक पनि राम्रो गर्ने सरकारको विश्वास रहेको बताउँदै भने, ‘पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ, सफलता हासिल गरिरहेको छ । धेरै खेलहरूमा नेपाली खेलाडीहरूको राम्रो प्रस्तुति देखिएको छ, तपाईंहरूको अथक् मिहिनेत र परिश्रम देख्दा म आफूलाई समेत गौरवको अनुभूति हुने गरेको छ । मलाई पूर्ण विश्वास छ– यसपटक तपाईहरूले थप राम्रो गर्नुहुनेछ ।’

एसियाली खेलकुद प्रतियोगिता यही असोज ६ देखि २१ गतेसम्म छिमेकी राष्ट्र चीनको हाङ्झाओमा आयोजना हुँदैछ । प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई प्रधानमन्त्री प्रचण्डले सफलताको शुभकामनासमेत दिए ।

विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्