सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका वडा-२ धामी ढुंगास्थित एक घरमा आगलगाी हुँदा आमाछोरीको मृत्यु भएको छ ।
स्थानीय सुकबहादुर थापाको टिनले छाएको एकतले घरमा आगलागी हुँदा सुकबहादुरकी श्रीमती ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतुको घटनास्थलमै मृत्यु भएको हो ।
शनिबार बिहान आमछोरी नै मृत अवस्थामा भेटिएपछि प्रहरीलाई स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शुक्रबार राति नै आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
छिमेकीले भने शुक्रबार राति घरमा आगलागी भएको जानकारी नभएको बताएका छन् । सुतिरहेको कोठामा आमाछोरी मृत अवस्थामा देखिएको प्रहरीले जनाएको छ । बिहान आमाछोरी मृत अवस्थामा भेटिएको र सुतिरहेको कोठामा आगलागी भएको देखिएपछि प्रहरीले घटना शंकास्पद भन्दै थप अनुसन्धान गरिरहेको जनाएको छ ।
स्थानीयका अनुसार रेवतीका श्रीमान भारतमा रहेकाले घरमा भने आमाछोरी मात्रै थिए । घटनाबारे थप आशंका रहेको भन्दै छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृतक दुवैलाई शनिबार दिउँसो पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ ।














