
काठमाडौं । राष्ट्रपति कार्यालयले ३४ जनालाई माफी मिनाहा सिफारिसको आधार र व्यक्तीगत विवरण माग गर्दै गृह मन्त्रालयलाई पत्र पठाएको छ ।
गृह मन्त्रालयले कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहा गर्न सिफारिस गरेपछि राष्ट्रपति कार्यालयले माफी मिनाहाको सिफारिसको आधार मागेको हो ।
संविधान दिवसको अवसर पारेर ३४ जनालाई माफी दिनेगरी राष्ट्रपतिसमक्ष प्रस्ताव पेस गरिएको गृह मन्त्रालय स्रोतले बताएको छ । राष्ट्रपति कार्यालयका अनुसार ५ दिन अघि उनीहरुको माफी मिनाहाको प्रस्ताव गरिएको थियो । तीमध्ये अधिकांश ज्यानमुद्दा, कर्तव्य ज्यान, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्ति छन् ।
सजाय पाएका व्यक्तिले माफी मिनाहाका लागि गृह मन्त्रालयमार्फत् राष्ट्रपतिसमक्ष निवेदन दिन सक्ने व्यवस्था छ । तर, मन्त्रालयले सिफारिस गर्दा यस्तो फैसलाको प्रतिलिपि पनि संलग्न गरेको छैन । मन्त्रालयले दुई तरिकाले माफी मिनाहाका लागि नाम सिफारिस गर्ने गर्छ । पहिलो कारागारमा कैद भुक्तान गरिरहेकाहरुको चालचलन हेरेर माफी मिनाहाको सिफारिस गरिन्छ ।
दोश्रो भनेको सजाय तोकिएको तर कैद भुक्तानी नगरेकाहरुको हकमा गृहबाट सिधै प्रस्ताव जान्छ । अहिले पठाइएका ३४ जना दोश्रो प्रकृतिका हुन् । मन्त्रालयले पठाएको सिफारिसमा माफी दिनुपर्ने कुनै कारण पनि खुलाएको नपाइएको स्रोतले बतायो ।
कैद भुक्तान गरेकाहरू मध्येबाट भने कारागार व्यवस्थापन विभागले भने यस वर्ष ८ सय जनालाई माफी मिनाहाको सिफारिस गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ६७० जनाको कैद माफी गर्ने निर्णय गरेको छ ।














