
काठमाडौं । लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ’ईरा’ विमोचन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बिच शर्माको दोस्रो उपन्यास ईरा सार्वजनिक गरिएको हो । विमोचन समारोहमा समाजशास्त्री डा. शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझासहित लेखक शर्माले सामुहिक रूपमा पुस्तक विमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै समाजशास्त्री डा. शोभा ढुंगानाले लेखक शर्माले समाजको वास्तविकतालाई पुस्तकमार्फत उजागर गरेको बताए । समाजमा कतिपय पात्रहरूले आज आफ्नो महत्त्व बुझ्न नसक्नाले शर्माले पुस्तकमा लेखेको कथा वास्तविक समाजको घटना र परिदृश्य भएको उनले बताए ।
त्यस्तै, सञ्चारकर्मी अच्युत घिमिरेले शर्मा पछिल्लो समयमा उदाउँदै गरेका युवा लेखकका रूपमा स्थापित हुन सक्ने बताए । उनले पछिल्लो समयका दश जना युवा लेखकको नाम लिने हो भने, त्यसमा शर्माको नाम पनि समावेश हुने बताए ।
अभिनेत्री लक्ष्मी बर्देवाले लेखक शर्मालाई बदाई दिदैँ पुरूष भएर पनि महिलाको विषयमा जुन हिसावले पुस्तकमा उल्लेख गरिएको छ त्यसमा शर्माको मिहिनेत देखिएको बताए । उनले युवापुस्ताका लेखकमा जुन हिसाबको जोश जाँगर देखिएको छ, त्यसले भोलिका दिनमा समाजमा सकारात्मक प्रभाव पर्ने समेत बताए ।
कार्यक्रमको समापन गर्दै लेखक शर्माले दुई वर्षको अन्तरालपछि आफुले दोस्रो उपन्यास सार्वजनिक गर्ने दुस्साहस गरेको र यसको राम्रो र नराम्रो पक्षहरू सबै केलाउने जिम्मा पाठकको भएको बताए ।
उक्त पुस्तकको कभर डिजाइन रसिक राजले गरेका हुन् भने पुस्तकलाई बजारमा वि एन पुस्तक सञ्चालले ल्याएको हो । कफी यात्रा प्रडक्सनद्वारा प्रकाशित पुस्तकको मुल्य ४५० रहेको छ । शर्माको पहिलो उपन्यास ’रूखहरूको मृत्यु’ बजारमा चर्चित उपन्यासका रूपमा रहेको छ । कार्यक्रम सञ्चालन गजलकार रसिक राजले गरेका थिए ।














