Logo
Logo

लाखे नाच संरक्षणमा नेवार समुदाय


630
Shares

दमौली । पछिल्लो समय लाखे नाच लोप हुँदै गएपछि तनहुँका नेवार समुदाय लाखे नाच संरक्षणमा जुटेका छन् । अहिलेका पुस्ताले लाखे नाचलाई कम प्राथमिकता दिएकाले यहाँका नेवार समुदाय यसको संरक्षणमा जुटेका हुन् ।

संस्कार र संस्कृति बचाउने उद्देश्यसहित लाखे नाचको संरक्षणका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा राष्ट्रियस्तरको लाखे नाच प्रतियोगिता आयोजना गरिएको छ । डुम्रे सांस्कृतिक एवं सामाजिक संरक्षण समितिको आयोजनामा शनिबार राति सम्पन्न प्रतियोगितामा भक्तपुरको विश्वकर्मा लाखे च्वांख प्रथम भयो।

एकतीस समूह सहभागी प्रतियोगितामा तनहुँको डुम्रेस्थित झिङ्गु नेवा पुचः द्वितीय, बन्दीपुरको खड्कमाई सांस्कृतिक समूह तृतीय भएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः रु ४० हजार पाँच सय ५५, २० हजार पाँच सय ५५ र पाँच हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेका थिए ।

संरक्षण समितिका संयोजक घनश्याम श्रेष्ठले लाखे नाच नेवार समुदायको परम्परा भएकाले यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, ‘विगतमा लाखे नचाउँदा छुट्टै उत्साह हुन्थ्यो, अहिले यो प्रचलन क्रमशः घट्दै जान थालेको छ । यसको संरक्षणका लागि प्रयास गरेका हौँ ।’

नेवारी संस्कृतिका भाषाविज्ञ अशोक पालिखेले संस्कार र संस्कृति बचाउनका लागि नेवार समुदाय एकजुट हुनुपर्ने बताए । भूतप्रेत भगाउने उद्देश्यले लाखे नचाउने गरिएको जानकारी दिँदै उनले यसको संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्