Logo
Logo

मुटु भएका सम्पादक भएरै राजतन्त्र अन्त्य भएको हो


- दृष्टि न्युज/संवाददाता


सरकारले गरेका राम्रा कामहरुको प्रशंसा गर्ने मुटु भएका मन भएका सम्पादक छैनन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता बालुवाटारमा के मात्र बोलेका थिए, अहिले सिंगो मिडिया उनको यो अभिव्यक्तिलाई लिएर ‘अरिंगाल’ झै खनिएका छन् । यसबाट बुझ्न सकिन्छ, नेपाली मिडिया ओलीप्रति कति आक्रोशित छन् भन्ने कुरा । पक्कै पनि ओली सरकारले राम्रो काम ग¥यो भनेर नेपाली मिडिया आलोचक बनेको होइन । त्यसका पछाडि धेरै कारणहरु छन् । ती कारणमध्ये सबैभन्दा प्रमुख कारण स्वतन्त्र प्रेसविरोधी विधेयक र कानूनहरु नै हुन् । दुईतिहाइ सरकार छ भन्दैमा संविधानको प्रस्तावनाविरुद्ध कुनै पनि कानूनहरु पास गर्न पाइँदैन । तर, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने विधेयकहरु संसद्मा यही सरकारले पेश गरेको छ ।

मुखले हामी स्वतन्त्र प्रेसको पक्षमा छौँ । सामाजिक सञ्जाललाई नियन्त्रण र नियमन गर्न मात्र छुट्टै कानुन आवश्यक परेको हो भनिएता पनि सामाजिक सञ्जाल पनि आम नागरिकको अभिव्यक्ति स्वतन्त्रताकै एउटा अंग बनेको छ । जुन सञ्जाल सशक्त र प्रभावकारी माध्यम पनि बनेको छ । सामाजिक सञ्जालकै कारण धेरै कुरामा सुधार पनि आएको छ । त्यसलाई नियन्त्रण, नियमन गर्न छुट्टै थप कानूनहरु आवश्यक छैन । मुलुकी अपराध संहिता नै त्यसलाई नियमन, नियन्त्रण गर्न काफी छ । त्यतिले नपुगेर मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक ल्याउन खोज्नुले नेपालका मिडियाले कतै ओली निरंकुश बन्न खोजेका त होइनन् भन्ने आशंका जन्माएको छ । यही आशंकाका कारण सरकारले गरेका राम्रा कामहरु ओझेलमा परेका हुन् ।

प्रधानमन्त्रीजस्तो पदमा पुगेका व्यक्तिले कुन बेला कस्तो शब्द बोल्नुपर्छ भनेर शब्द चयन गर्न नसक्दा प्रधानमन्त्री ओली धेरै पटक विवादमा तानिएका छन् । संसद्मा प्रयोग भएको ‘निम्छरो’ शब्दले सदनमा हंगामा भयो । पार्टी कार्यालयमा बोलेको ‘अरिंगाल’ शब्दले कार्यकर्ता तहमै हाँसोको पात्र बने । अहिले नेपाल चेम्बर अफ कमर्सका व्यवसायीबीच मुटु भएका सम्पादक छैनन् भन्ने कुराले मिडियामा हंगामा मच्चिएको छ । यदि नेपाली मिडियासँग सरकारको त्यति नै आक्रोश थियो भने, नेपाली मिडियालाई बोलाएर संवाद गर्न सकिन्थ्यो । दुर्भाग्य, ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि बालुवाटारमा मिडियालाई प्रवेश निषेध गरिएको छ । दिनहुँ व्यापारीलाई भेला गरेर प्रधानमन्त्रीजस्तो व्यक्तिले मिडियाको आलोचना गर्ने कुरा सुहाउने कुरा होइन ।

नेपाली मिडियाले नाकाबन्दीताका ओलीको राष्ट्रवादी अडानलाई साथ दिएकै कारण ओलीको ‘हाइट’ चुलिएको हो । त्यसैकारण जनताले नेकपालाई दुईतिहाइको मत दिएका हुन् । मिडियाकै कारण ओली दोस्रोपटक प्रधानमन्त्री बनेका हुन् । दोस्रोपटक प्रधानमन्त्री बनेपछि जनअपेक्षा बमोजिम काम नभएकोमा मिडिया सरकारप्रति आलोचक बनेको हो ।

काठमाडौँका सडकबाट मगन्ते उठाउनु र त्यसको व्यवस्थापन गर्नु सरकारको दायित्वभित्रकै कुरा हो । पानीजहाज, रेल, तेल, दीर्घकालीन विकासको आयोजना हो । त्यो कुनै नौलो कुरा होइन । राजा महेन्द्रको पालामा पनि पानीजहाज कार्यालय थियो । कोदारी राजमार्ग बन्यो । मेचीकाली राजमार्ग जोडियो । चिनियाँ सहयोगमा दर्जनौं कलकारखाना खुल्यो । त्यो समाचार बनाइरहनु पर्ने विषय होइन । त्यो त जुनसुकै सरकार आए पनि निरन्तर गर्नुपर्ने काम हो । मिडियाको काम त सरकारले नगर्नुपर्ने काम किन ग¥यो भन्ने मात्रै हो । अब सरकारले लिष्ट बनाउनुप¥यो, यो दुई वर्षमा गर्नुपर्ने काम कति ग¥यो ? नगर्नुपर्ने काम कति ग¥यो ? यी दुई कामलाई तराजुमा जोखेर हेर्ने हो भने यो दुई वर्षमा सरकारले गर्नुपर्ने भन्दा नगर्नुपर्ने काम नै बढी गरेकोले सरकारप्रति स्वतन्त्र प्रेस सशंकित बनेको हो । यो देशमा मुटु भएका सम्पादक भएकै कारण नेपाली मिडिया सशक्त भएका हुन् । लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली मिडियाको प्रमुख भूमिका छ । सरकारका गतिविधिका कारण लोकतान्त्रिक गणतन्त्र कतै कमजोर बन्ला कि भन्ने चिन्ता मात्र नेपाली मिडियाको हो । त्यसका लागि मिडियाले बारम्बार खबरदारी गरिरहनुपर्छ । मिडियाको धर्म भनेकै नागरिक अधिकारको रक्षा गर्नु हो । नागरिक अधिकार कुण्ठित भयो र स्वतन्त्र प्रेसको अस्तित्व समाप्त भयो भने त्यसले अर्को तानाशाह जन्माउने खतरा हुन्छ भन्ने कुरा पनि मिडियाले बिर्सिएको छैन ।

प्रतिक्रिया दिनुहोस्