Logo
Logo

दुई पत्रकार संगठनबीच एकता, क्रान्तिकारी प्रेस संगठनको घोषणा


4.7k
Shares

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन, नेपालबीच एकता भएको छ । ललितपुरको कुपण्डोलस्थित वैकुण्ठ–चेत स्मृति भवनमा आयोजित एकता भेलाले संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’को पारित गरेको छ । 

शनिवार राती सम्पन्न भेलाबाट कमल बूढा संयोजक र नारायण पंगेनी सहसंयोजक निर्वाचित भएका छन् । दुवै सङ्गठनका देशैभरबाट उपस्थित प्रतिनिधिहरूको भेलाले ६५ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक कमिटी निर्माण गरेको छ ।

भेलाले पत्रकारहरूको पेशागत सुरक्षाका विषयमा सशक्त आवाज उठाउने तथा नेपाल पत्रकार महासङ्घले पत्रकार शुद्धिकरणका नाममा पार्टीमा आस्था राखेकै आधारमा महासङ्घको सदस्यताबाट बञ्चित गर्ने कार्यको भण्डाफोर गर्ने लगायतका समसामयिक प्रस्ताव पारित गरेको संगठनका सहसंयोजक नारायण पंगेनीले जानकारी दिए ।

नवनिर्वाचित कमिटीको बैठक चाँडै बसेर संगठन र संघर्ष सम्बन्धी निर्णय लिइने क्रान्तिकारी प्रेस सङ्गठनले जनाएको छ । भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला, पार्टीको कार्यालय सदस्य दिनेश शर्मा सागर, लगायतले शुभकामना मन्तव्य राख्दै मुलुकको अवस्था जर्जर बनिरहेको  बेला जनपक्षीय पत्रकारहरूको महत्वपूर्ण भूमिका हुने बताएका थिए । 

नवनिर्वाचित कमिटीलाई भेलाका अतिथिहरू तत्कालीन क्रान्तिकारी पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष तथा नवगठित क्रान्तिकारी प्रेस सङ्गठनका सल्लाहकार इन्द्र राउत र क्रान्तिकारी प्रेस सङ्गठनका सल्लाहकार अशोक सुवेदीले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । 

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी गत वैशाख १८ गते एकता भई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल घोषणा भएको थियो । 

दुई पार्टीबीच एकतापछि त्यसका जनवर्गीय तथा शुभेच्छुक संस्थाहरुबीच एकता प्रक्रिया कार्यक्रम जारी रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले बताए । यसअघि विद्यार्थी, युवा, महिला, मजदुर, बुद्धिजीवी लगायतका जनवर्गीय सङ्गठनका एकता सम्मेलन सम्पन्न भइसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस्