Logo
Logo

माग पूरा नभए सामूहिक आत्मदाह गर्ने पूर्वमाओवादी लडाकुको चतावनी


2.8k
Shares

काठमाडौं । जनयुद्धका क्रममा घाइते भएका पूर्वमाओवादी लडाकुले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने बताएका छन् । आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सिंहदरबारस्थित मन्त्रालयमा भेटेर आफ्ना समस्या सरकारले सम्बोधन नगरे सामूहिक आत्मदाह गर्ने उनीहरुले चेतावनी दिएका हुन् ।

सोक्रममा उनीहरुले जनयुद्धका घाइतेको उच्चस्तरीय औषधोपचारको व्यवस्था गर्नुपर्ने, जीवन निर्वाह गर्न तत्काल स्रोतको व्यवस्था गर्नुपर्ने, पूर्वलडाकूको कार्यदलमा नाम नभएकाको तत्काल सूचीकृत गरेर समावेश गर्नुपर्नेलगायतका माग रोखका थिए ।

गृहमन्त्री श्रेष्ठसँग अछामका पूर्वलडाकु एवं घाइते धीरेन्द्र भण्डारीले घाइते तथा अपांगता भएका व्यक्तिका छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क व्यवस्था गर्नुपर्ने, जनयुद्धका घाइते तथा अपांगता भएका व्यक्तिको निधन भएपछि सहिद घोषणा गर्नुपर्ने र जनयुद्धका नक्कली तथा सक्कली घाइते र अपांगता भएका व्यक्तिको पहिचान गरेर आवश्यक कारबाही गर्नुपर्ने बताएका थिए ।

सो भेटका क्रममा पूर्वलडाकु एवं घाइते वीरबहादुर बुढाले चार महिनादेखि आफ्ना समस्या समाधानका लागि सिंहदरबारको ढोका धाइरहेको बताउँदै आफ्नो शरीरमा देखिएपनि घाउ सञ्चो नभएको दुखेसो गरे ।

गृहमन्त्रीसँग भेट गर्न चितवनका पूर्वलडाकु तथा घाइते शंकर पौडेल, बर्दियाका नरवीर दमाईलगायत पूर्वलडाकू एवं घाइतेहरु सिंहदरबार पुगेका थिए । पौडेलले आफू जनयुद्धको घाइते भएरपनि राज्यले उपचार नगर्दा घरजग्गा बेचिसक्दा पनि उपचार पूरा हुन नसकेको भन्दै आफूले हाल डिप्रेसनको औषधि खाइरहेको सुनाए ।

यस्तै, बर्दियाका घर भएका पूर्वलडाकु एवं घाइते दमाईले नक्कली घाइते र अपांगता भएका व्यक्तिले जीवन निर्वाहभत्ता तथा उपचार सुविधा पाइरहेको देख्दा जीवनदेखि नै आजित भएर दुईपटक आत्मदाहको प्रयास गरेको बताएका थिए ।

उनले पार्टी, नेता र सरकारको सिफारिसमा घाइते केही पनि नभएका व्यक्ति घाइते तथा अपांगता भएको सूचीमा परेकाले नेपाल प्रहरीमार्फत घाइते तथा अपांगता भएकाको पुनरावलोकन तथा अनुसन्धान गर्न गृहमन्त्री श्रेष्ठसँग आग्रह गरे ।

समस्या र गुनासो पोख्न आफ्नो कार्यलयमा आएका पूर्वलडाकू एवं जनयुद्धका घाइतेहरुलाई गृहमन्त्री श्रेष्ठले समस्या समाधान हुने आश्वास दिएका थिए । उनले अहिले अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्ड विदेश भ्रमणमा रहेको भन्दै फर्किनेबित्तिकै गम्भीर रुपमा छलफल गरेर समस्या समाधान गर्न पहल गर्ने जनाए ।

प्रतिक्रिया दिनुहोस्