काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यही असोज २६ गते नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा उनी काठमाडौं आउन लागेका हुन् ।
द्वन्द्वकालीन मुद्दाको किनारा लगाउन राजनीतिक दलहरूलाई सकस भइरहेका बेला महासचिव गुटेरेस नेपाल आउने भएका हुन् । उनी यतैबाट २९ गते चीन जाने बताइएको छ ।

नेपाल बसाइका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, राजनीतिक दलका नेतासँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । महासचिव गुटेरेसले द्वन्द्वकालका पीडितसँग समेत भेट गर्ने र त्यसका लागि तयारी भइरहेको बताइएको छ ।
सरकारले संक्रमणकालीन न्यायको विषय टुंगो लगाउन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गरेको छ । तर, दलहरूको बेमेलका कारण सो विधेयक थन्किएर बसेको छ ।














