Logo
Logo

सिंगापुरविरुद्धको खेलमा अर्नाको साढे ६ लाख बढी खर्च, सबैभन्दा धेरै कुशलले पाउने


6.7k
Shares

काठमाडौं । आईसीसी टी–२० विशवकप क्रिकेट एसिया छनोट अन्तर्गत सिंगापुरविरुद्धको खेलमा नेपालका ब्याट्सम्यान कुशल भुर्तेलले सबैभन्दा धेरै रकम पाउने भएका छन् ।

विश्वकप छनौट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्ने नीतिसहित अर्ना बियरले घोषणा गरेको ब्याट्सम्यानलाई प्रतिरनमा १ हजार अनुसार भुर्तेलले सबैभन्दा बढी कुल १ लाख ७४ हजार रुपैयाँ पाउने भएका हुन् ।

कम्पनीले प्रत्येक विकेटमा २५ हजार, ब्याट्सम्यानलाई प्रतिरनमा १ हजार, प्रति चौका १० हजार र प्रति छक्का प्रहारमा २० हजार रुपैयाँ दिने उद्घोष गरेको थियो । साथै, प्रति चौका र छक्कामा बनेको रन ‘सिंगल रन’ मा समेत गणना हुने अर्नाको उद्घोष छ ।

उनले ४८ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाएका छन् । यसअनुसार ८ चौका प्रहार गर्दा १० हजारका दरले ८० हजार र २ छक्काबाट २० हजारका दरले ४० हजार पाउनेछन् । यस्तै, प्रति रनबाट १ हजारका दरले ७४ हजार रुपैयाँ पाउनेछन् । सिंगापुरविरुद्धको खेलमा उनले कूल १ लाख ७४ हजार रुपैयाँ पाउने भएका छन् ।

यस्तै, ब्याटिङ गर्न आएका कप्तान रोहितले ९५ हजार रुपैयाँ पाउने भएका छन् । उनले समान २/२ चौका र छक्काको मद्धतमा ३५ रन बनाए । यसबाहेक, २ छक्का र १ चौकाको सहयोगमा २७ रन बनाएका आसिफ शेखले ७७ हजार रुपैयाँ पाउनेछन् भने अन्तिममा ब्याटिङ गर्न आएका कुशल मल्लले २६ हजार पाउनेछन् । उनले पहिलो बलमै छक्का प्रहार गर्दै ६ रन जोड्दै नेपाललाई २ अंक दिलाए ।

त्यस्तै बलर अभिनास बोहोराले ८४ हजार रुपैयाँ पाउने भएका छन् । प्रत्येक विकेटमा २५ हजार रुपैयाँ दिने उद्घोष अनुसार बोहोरा ३ विकेट लिँदै सबैभन्दा धेरै विकेट लिने खेलाडीका रुपमा रहेका छन् । यस्तै, उनले ९ डटबल फालेका छन् । अर्नाले डटबल फाल्नेलाई १ हजार रुपैयाँ दिने भनेको छ ।

यसपछि समान दुई/दुई विकेट लिँदै समान १३/१३ डट बल फालेका सन्दीप लामिछाने र गुल्सन झाले समान ६३/६३ हजार पाउनेछन् । मुलपानी र टियू मैदानमा सम्पन्न त्रिदेशीय प्रतियोगिता नखेलेका लामिछाने विश्वकप छनौटको खेलमा भने मैदान फर्किका छन् ।

यसपछि, २ विकेट लिँदै ११ डट बल फालेका करन केसीले ६१ हजार रुपैयाँ र विनाविकेट १३ डटबल फालेका सोमपाल कामीले १३ हजार रुपैयाँ पाउनेछन् । आज सिंगापुरविरुद्ध बलिङ गरेका सबै बलरले कूल २ लाख ८४ हजार र ब्याट्सम्यानले ३ लाख ७२ हजार रुपैयाँ पाउने भएपछि अर्नाकाे ६ लाख ५६ हजार रूपैयाँ खर्च हुने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्