काठमाडौं । विगतमा स्टेट पार्टनरसिप प्रोग्राम अर्थात (एसपीपी) सम्झौता एमसीसीपछि सर्वाधिक विवादमा परेर रोकिएको थियो । अमेरिकी सैन्य साझेदारीको रुपमा अघि सारिएको प्रस्ताव भएकाले त्यसको व्यापाक आलोचना भएको थियो ।

अहिले त्यसका लागि दबाब दिन कात्तिक १० मा कुटनीतिक पासपोर्ट बोकर अमेरिकी सैन्य अधिकारी जोन हेनरी भोर्नाडन र भनेस्सा भोर्नाडन सहित १२ जनाको टोली नेपाल आएको छ ।
सो टोलीलाई अमेरिकी दूतावासले कुटनीतिक गाडी लिएर रिसिभ गरेको थियो । उनीहरुलाई हाल होटल मेरियटमा राखिएको छ ।
एमसीसीपछि संवाधिक विवादमा परेको बेला ‘स्टेट पार्टनरसिप प्रोग्राम’ अर्थात (एसपीपी) सम्झौता गर्न अमेरिकाले दबाब दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बेला हस्ताक्षर गर्ने तयारी भइरहँदा यो प्रस्तावित सम्झौता विवादित बनेपछि रोकिएको थियो ।
अमेरिकी सेनाले नेपाली भुमिमा आफ्ना गाडी, जहाज, उनीहरुको अभ्यास तथा ट्रान्जिटका साथै सञ्चार प्रविधि जडान, अमेरिकी सैनिकको बसोबासका लागि नेपालले भूमि उपलब्ध गराउने लगायतका दश बुदाका सर्त सम्झौतामा उल्लेख गरिएका थिए । जुन सर्तहरु नेपालको असंलग्न परराष्ट्र नीतिको विपरीत भएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
सन् २०१५ मा नेपाललाई प्रस्ताव गरिएको एसपीसी सम्झौतामा हालसम्म नेपालले सहमति जनाएको छैन । तर एमसीसी सम्झौता पारित भएसँगै चिढिएको उत्तरी छिमेकी चीनलाई समेत सशंकित बनाउने गरी एसपीपी सम्झौता गर्न दबाब दिन थालिएको छ ।











