Logo
Logo

तन्नेरी चासोद्वारा आयोजित डिबेटमा कन्चनको टिम प्रथम 


252
Shares

दोलखा । तन्नेरी चासोले आयोजना गरिएको ‘वैदेशिक रोजगारीले देश विकासमा योगदान पुर्याउँछ’ भन्ने वादविवाद प्रतियोगितामा कन्चन तामाङको पक्षले प्रथम स्थान हासिल गरेको छ ।  

कुनै पनि विषयमा वस्तुमा युवाले तार्किक क्षमताको विकास गर्ने उद्देश्यले आयोजित माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच भएको वादविवादमा कन्चनको पक्ष प्रथम भएको हो ।  

कन्चनको पक्षबाट तिर्सना श्रेष्ठ, निकिता बस्नेत र बन्दीका मुगरातीको टिमले ‘वैदेशिक रोजगारीले देश विकासमा योगदान पुर्याउँछ’ भन्दै तथ्यगत विवरणहरू पेश गरेका थिए ।

सरल भाषा, विषयगत अध्ययन, अर्थपूर्ण तार्किक विचारका कारण कन्चनको टिमले प्रथम स्थान हासिल गर्न सफल भएको निर्णायक मण्डलका संयोजक नवीन सिलवालले बताए ।  

यस्तै, दावा तामाङको टिम उप विजेता भएको थियो । अविनाश बुढाथोकी, रिचा दुलाल, अजपा शिवाकोटीसहित दावाको टिमले वैदेशिक रोजगारीले देश विकासमा योगदान पुर्याउँदैन भन्ने पक्षबाट तर्क पेश गरेका थिए । 

दावाको टिमले पनि उत्तिकै प्रभावकारी ढंगले तर्क पेश गरेको थियो ।  पक्ष र विपक्षले प्रभावकारी ढंगले तर्क पेश गरे पनि निर्णायक मण्डलले ‘वल्र्ड स्कुल डिवेट च्यापियनसिप’ को फरम्याट अनुसार निर्णय सुनाएका थिए ।   

तन्नेरी चासाले विगत दश वर्षदेखि ‘गुनासो होइन, प्रश्न गरौं’ भन्दै युवालाई सार्वजनिक चासोको विषयमा सरोकारवाला पक्षलाई खबरदारी गर्न प्रेरित गरिरहेको छ । 

मंसिर ११ गतेबाट गौरीशंकर बहुमुखी क्याम्पसमा डिबेट तालिम सुरु गरिएको थियो । उक्त तालिममा विभिन्न विद्यालयका  ३१ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीहरुले यो डिवेट नयाँ रहेको र सिकेपछि सार्वजनिक विषय वस्तुमा प्रश्न गर्न आत्माबल बढेको बताए ।  

तन्नेरी चासोका सिइओ नवीन सिलवालले देशको सामाजिक, राजनीतिक, सुशासन र भ्रष्टाचारको विरुद्ध विभिन्न माध्यमबाट खबरदारी गर्दैै आइरहेको र खबरदारी गर्ने विभिन्न टुलमध्ये युवालाई डिवेटको माध्यमबाट सार्वजनिक चासोमा बहस गर्न उत्प्रेरित गरिएको बताए ।  

कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाको मेयर ईश्वर नारायण मानन्धरले तन्नेरी चासोको अभियानले समाजका युवालाई सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे । 

मेयर मानन्धरले समाजलाई सकारात्मक प्रभाव पार्ने कार्य गर्न युवालाई आग्रह गर्दै प्रथम भएको टिमलाई बधाई तथा शुभकामना दिएका थिए । 

भीमेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष तारानाथ चौलागाइँले समाजमा यस्ता बहस आवश्यकता बढ्दै गएको भन्दै आफ्नो वडामा डिवेट कार्यक्रम गर्ने बताए ।  

यस्तै कार्यक्रममा कालिञ्चोक माध्यामिक विद्यालयका प्रअ शम्भु गौतम, गौरीशंकर बहुमुखी क्याम्पसका सहायक प्राचार्य सुवास रिमाल, द राइजिङ स्टार स्कुलका प्रेम प्रसाद अधिकारी लगाएतले मन्तव्य राखेका थिए ।  सो तालिममा ट्रेनर गणेश बुढाथोकी र शाम्भवी चापागाइँले प्रशिक्षण दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्