
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा खसेको सुख्खा पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएपछि दिउँसो २ बजेपछि यातायात दुईतर्फी नै सञ्चालनमा आएको हो । नागढुंगा–मुग्लिन सडक योजनाको यस खण्डमा विगत केहीदिनयता लगातार सुख्खा पहिरो खसिरहेको थियो । आइतबार रातिदेखि पहिरो खस्नेक्रम बढेको थियो ।
सोमबार बिहान पनि दिनभरजसो राजमार्ग भएर यात्रा गरेका यात्रुले पहिरोका कारण सास्ती भोग्नु परेको थियो । त्यस्तै आज मंगलबार पनि पहिरोका कारण घण्टौंसम्म यात्रुहरूले उस्तै सास्ती भोगेका छन् ।


















