Logo
Logo

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज आदेश आउने


756
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुले दायर गरेको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा पुनरावलोकन निवेदनमाथि बिहीबार सुनुवाइ सकिएकाले आज आदेश अआउने सम्भावना रहेको हो ।

अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले बिहीबार बहस सकिए पनि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको र शुक्रबार आदेश आउने सम्भावना रहेको जानकारी दिए । मंसिर ५ गतेदेखि निरन्तर थालिएको सुनुवाइ बिहीबार प्रतिवादीतर्फका कानून व्यवसायीले जवाफी बहस गरेपछि सकिएको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा २० जनाविरुद्ध मुद्दा चलिरहेको छ । जसमध्ये १७ जना थुनामा छन् भने ३ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडेको थियो । थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण लगायतले थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदन दिएका हुन् । उनीहरुले आफुहरुलाई थुनामुक्त गर्न माग गरेका छन् ।

त्यस्तै धरौटीमा छाडिएकामध्ये दुईजनाविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन निवेदन दिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

उनीहरूविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर, लिखत सम्बन्धी किर्ते र एकीकृत कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्