
काठमाडौं । एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा बुटवल लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
लुम्बिनीको जितमा स्टेफन बियोङ र एरिक विष्टले गोल गरे । इलामका लागि भने अब्दुलाये बाले एक गोल फर्काए । बुटवलले खेलको ४८ औँ मिनेटमा पहिलो गोल गरी अग्रता लिएको थियो ।
बुटवलका फरवार्ड जिलेस्पीजंग कार्कीले निकालेको क्रसमा बियोङले गोल गर्दै बुटवललाई पहिलो अग्रता दिलायो । त्यस्तै खेलको ७९ औँ मिनेटमा इलामका अब्दुलाये बाले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । उनले अमथ एनडाको पासमा बराबरी गोल फर्काए ।
त्यसपछि खेल सकिन तीन मिनेट बाँकी छँदा बुटवलका कप्तान एरिक विष्टले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । यो जितसँगै तीन खेलमा बुटवल लुम्बिनीले ३ अङ्क जोडेको छ । समान तीन खेल नै खेलेको इलामको पनि समान ३ अङ्क नै छ ।














