काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सार्न नेताहरु सहमत भएका छन् । सोमबार सुरु भएको सचिवालय बैठकमा नेताहरु महाधिवेशन सार्न सहमत भएका हुन् । पाटीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार भोलि (मंगलबार) बस्ने बैठकले महाधिवेशनको नयाँ मितिबारे निर्णय गर्ने भएको छ ।
प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘महाधिवेशन सार्न सबै नेता सहमत हुनुभएको छ । मितिबारे भोलि निर्णय हुनेछ ।’ उनका अनुसार जाजरकोट भूकम्पका पीडितहरुको पुनर्स्थापना र राष्ट्रियसभा निर्वाचनमा लाग्नुपर्ने भएकाले महाधिवेशन सार्न नेताहरु सहमत भएका हुन् ।

एकीकृत समाजवादीले यसअघि आगामी १४–१८ माघमा काठमाडौंमा महाधिवेशनको मिति तय गरेको थियो । तर, महाधिवेशनमा पेश गरिने दस्तावेजहरु अझै तयार हुन बाँकी रहेको एकीकृत समाजवादीले जनाएको छ । साथै, सदस्यता नवीकरणमा समेत समस्या रहेकाले महाधिवेशन सार्न नेताहरु सहमत भएका हुन् ।














