काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिर ८० प्रतिशत सेयर बिक्रीको विषयमा तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको सचिवालयकाअनुसार राजश्व विभाग लगायतका निकायलाई एनसेलको सेयर खरिदको छानबिन गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले सोमबार एनसेलको सेयर बिक्रीबारे चासो व्यक्त गरेका गर्दै यस्तो निर्देशन दिएका हुन् ।

‘एनसेलको सेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरुप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गम्भीर चासो व्यक्त गर्नुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिनुभएको छ ।’
एनसेलको सेयर बिक्रीबारे संघीय संसद्को सार्वजनिक लेखा समितिले पनि चासो व्यक्त गरेको थियो । दूरसञ्चार सेवा प्रदायक कम्पनी र वैदेशिक लगानीका सन्दर्भमा प्रत्यक्ष सरोकार राख्ने नेपालस्थित सरकारी निकायलाई जानकारी नै नदिई सेयर खरिद–बिक्री भएपछि समितिले चासो राख्दै सरोकारवाला निकायलाई लेखा समितिले प्रश्न गर्दै विवरण माग गरिसकेको छ ।














