
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विद्रोह गरेका वरिष्ठ नेता राजेन्द्र महतोले काठमाडौंबाट शक्ति प्रदर्शनको सुरुवात गर्ने भएका छन् ।
आन्दोलनको तयारीमा रहेका महतोले आफू मधेसमा मात्र केन्द्रित नरहेको सन्देश दिनका लागि पनि पहिलो शक्ति प्रदर्शन काठमाडौंबाट गर्ने तयारी गरेको उनी निकट नेताहरू बताउँछन् । त्यसका लागि महतोले गोप्य ढङ्गले काठमाडौं र वरपरका जिल्लामा प्रशिक्षण तथा तालिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।
आदिवासी जनजाति, खस आर्य समुदायलाई साथमा लिनका लागि उनले अहिले दिनहुँ प्रशिक्षणका कार्यक्रम गरिरहेको उनी निकट नेता बताउँछन् । महतो निकटका एक नेताले भने, ‘काभ्रे, धादिङ, सिन्धुली, काठमाडौं लगायत विभिन्न ठाउँमा प्रशिक्षण चलिरहेका छन्, प्रशिक्षण कार्यक्रमलाई अहिले प्रचारमा ल्याइएको छैन ।’
महतोले माघ ५ गते नै आन्दोलन घोषणा गर्ने तयारी भए पनि गृहकार्य पूरा नभएका कारण स्थगित गरेका छन् । यस बिचमा महतो दुई पटक भारत गएर छलफल गरे । त्यसपछि उनी काठमाडौँलगायत तराई मधेस र पहाडका केही जिल्लामा पुगेर छलफल र बैठक राखेका छन् ।
महतो अहिले फागुनमा काठमाडौंमा शान्तिपूर्ण प्रदर्शनका लागि तयारीका लागि जुटेका छन् । मधेसी तथा आदिवासी जनजाति नमिलेसम्म क्रान्ति सफल नहुने उनको बुझाइ छ । मधेसले एक चरणको आन्दोलन सम्पन्न गरे पनि त्यसले उठाएको मागहरू पूरा नहुनुमा आदिवासी जनजातिले साथ नदिनु नै मुख्य कारण रहेको महतोको निष्कर्ष छ ।
नेता महतोको साथमा आन्दोलनको तयारीमा रहेका लोसपाका महासचिव केशव झाले काठमाडौंमा प्रदर्शन गर्ने तयारी भइरहेको बताए । तर कहिले गर्ने भन्ने मिति तय नभएको उनको भनाइ छ ।














