
काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरिएको छ । विदुर नगरपालिकाको कार्यालयले बेपत्ता भएका ४१६ जनाको सूची प्रकाशन गरेको हो ।
नगरपालिकाले सार्वजनिक गरेको विवरणमा कुनै व्यक्तिको नाम, व्यक्तिगत पहिचान वा स्थायी ठेगाना विदुर नगरपालिकाबाहेक अन्यत्र भएको भए त्यसलाई सच्याउन आह्वान गरेको छ ।
विवरणमा कसैको दाबी, विरोध वा कुनै किसिमको त्रुटि रहेको भए सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र आवश्यक प्रमाण तथा कागजातसहित लिखित रूपमा पेस गर्नुपर्नेछ । यसका लागि नगरपालिकाको सूचना प्रविधि शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
तोकिएको ३ दिनको समयावधिभित्र विवरण सच्याउन वा सुधार गर्न कुनै निवेदन प्राप्त नभएमा नगरपालिकाले सार्वजनिक गरिएको सूचीलाई नै अन्तिम विवरणका रूपमा कायम गर्नेछ । त्यसलगत्तै बेपत्ता व्यक्तिहरूको मृत्यु घोषणाको सिफारिस प्रक्रिया अगाडि बढाइने नगरपालिकाले स्पष्ट पारेको छ ।






































