
काठमाडौं । विभिन्न समयमा भन्सार यार्डमा ल्याएर जाँचपास नगरेका साना सवारी साधन नेपाल भित्राउन सरकारले नै ताकेता सुरु गरेको छ । भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार यस्ता गाडी २ हजार भन्दा बढी संख्यामा रहेका छन् ।
विभागले विभिन्न कम्पनीले भन्सारसम्म ल्याएका गाडी नेपाल भित्राउन कम्पनीहरुसँग ताकेता सुरु गरेको छ । कुनै पनि वस्तु ६० दिनभित्र भन्सार जाँचपास नगरे जफत गरी लिलामी प्रक्रियामा जाने नियम छ ।
तर, सवारी साधनको हकमा भने केही लचिलो बनेर प्रक्रियागत रुपमै भित्राउन पहल थालिएको उनले जानकारी दिए । ‘अहिले सरकारको राजस्व घटेको अवस्था छ,’ उनले भने, ‘यस्तो अवस्थामा भन्सार यार्डमा रोकिएका सवारी साधन भित्राउन आग्रह गरिरहेका छौं ।’
यसरी ताकेता गर्दा समेत गाडीहरु नभित्रिएमा भने जफत र लिलामी प्रक्रियामा जानु पर्ने अवस्था आउने उनको भनाइ छ । सामान्यतया सवारी साधनलाई जफत गरी लिलामी प्रक्रियामा लैजानु भन्दा कर लिएर भित्राउँदा सरकारलाई फाइदा हुन्छ ।
भन्सार विभागका अनुसार वीरगञ्ज, भैरहवा, रसुवागढी र चोभरमा धेरै गाडी थुप्रिएका छन् । यस्ता गाडीको संख्या २ हजार भन्दा बढी रहेको विभागका निर्देशक खड्काले जानकारी दिए ।
उनका अनुसार व्यवसायीले बजारमा माग नभएको भन्दै यार्डमा ल्याएका सवारी साधन समेत भित्राउन आनाकानी गरेका हुन् । अर्कोतर्फ यस वर्ष विद्युतीय सवारी साधनको माग बजारमा बढी छ । सोही अनुसार विद्युतीय सवारी साधन भित्रने क्रम समेत उत्तिकै छ ।














