काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताएका छन् ।
मन्त्रालयमा शुक्रबार आज पत्रकार सम्मेलन गरेर उनले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको भन्ने समाचारको खण्डन गर्दै संसद्ले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न नसक्ने स्पष्ट पार्दै भने, ‘बजेट कटौती गरिएको छैन ।’
अर्थमन्त्री डा. महतले आफूले प्रधानमन्त्रीसँग छलफल गरेर नै बजेटको अनुमानित खर्चको आकार घटाइएको दाबी गरे । उनले भने, ‘प्रधानमन्त्रीसँग छलफल र समन्वय गरेर नै बजेटको अनुमानित खर्चको आकार घटाएको हो ।’

त्यस्तै उनले अर्थमन्त्री डा.महतले खर्चको आकार घटाउने सवालमा प्रधानमनत्रीसँगको समन्वयमै भएको दावी गरे ।
‘बजेटको विषयमा सिस्टमभित्र घनिभूत छलफल हुन्छ । प्रधानमन्त्रीसँग, अर्थमन्त्रालयभित्र स्वच्छ वृहत् छलफल हुन्छ । प्रधानमन्त्री आफ्नो विचार राख्नुहुन्छ र हामीले पनि आफ्नो भनाइहरू राख्छौँ । यसै बजेटको सिलिङ वा आकार घटाउने भन्ने हुँदैन’ अर्थमन्त्रीले महतले भने, ‘अहिले बजेट खर्चको अनुमान घटाउँदा प्रधानमन्त्रीसँग वृहत् छलफल भएको छ । विषयलाई अतिरञ्जित गरिदिनु भएन ।’
मन्त्री डा. महतले यसले जनतामा द्विविधा उत्पन्न हुने बताउँदै बजेटको अर्धवार्षिक मूल्याङ्कन गरिएको स्पष्ट पारे । बजेटको मध्यावधि मूल्याङ्कन गर्दै मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा सवा दुई खर्ब बजेट कम गरिएको भन्ने समाचार केही दिनअघि सार्वजनिक भएको थियो ।
साथै, उनले राजस्व र बजेट कार्यान्वयन प्रगतिको समीक्षा गरिएको बताउँदै अघिल्लो वर्षको तुलनामा १० प्रतिशत राजस्व वृद्धि भएकोसमेत जानकारी गराए ।
मन्त्री डा महतले नियमसम्मत बढी राजस्व उठाउने र खर्च गरिने उल्लेख गर्दै उठेको राजस्वको आधारमा आय र व्ययको आकलन मात्रै गरिएको बताए । सरकारले चालु वर्षमा रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरेको थियो ।
सो अवसरमा उनँले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको जानकारी गराए । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीच छलफलपछि सो सिलिङ तोकेको उनको भनाइ थियो ।












