
काठमाडौं । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालमा उत्पादित इनर्जी ड्रिंक्सहरू सुरक्षित रहेको बताएको छ ।
केहि ब्राण्डका इनर्जी ड्रिंकलाई जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएपछि विभागले सूचना नै जारी गर्दै मानव स्वास्थ्य सुरक्षा र उपभोक्ता हित संरक्षणका लागि आफू प्रतिबद्ध रहेको जनाउँदै स्वदेशी उत्पादनहरूमा क्याफिनको मात्रा अन्तर्राष्ट्रिय सुरक्षित मापदण्ड भित्रै रहेको बताएको हो ।
विभागका अनुसार युरोपियन फुड सेफ्टी अथोरिटी (ईएफएसए) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (यूएस–एफडीए) जस्ता अन्तर्राष्ट्रिय संस्थाले एक स्वस्थ वयस्क व्यक्तिका लागि दिनभरिमा चिया, कफी लगायत सम्पूर्ण क्याफिनेटेड पदार्थबाट अधिकतम ४ सय मिलिग्रामसम्म क्याफिन उपभोग गर्नुलाई सुरक्षित मानेका छन् ।
हाल नेपाल सरकारबाट अनुमति लिएर १७ वटा उद्योगले इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्री वितरण गरिरहेका छन् । विभागको प्रयोगशाला विश्लेषण र उत्पादनको लेबल विवरण अनुसार ती स्वदेशी उत्पादनमा प्रतिक्यान क्याफिनको मात्रा १ सय मिलिग्रामभन्दा कम रहेको पाइएको विभागको भनाइ छ ।
यो मात्रा मानव उपभोगका लागि तोकिएको दैनिक सुरक्षित सीमाको २५ प्रतिशतभन्दा पनि कम भएकाले नेपालमा उत्पादित इनर्जी ड्रिंक्स सुरक्षित रहेको विभागले जनाएको छ । इनर्जी ड्रिंक्स सुरक्षित पाइए तापनि यसको उपभोगमा विशेष सावधानी अपनाउन विभागले आम उपभोक्तालाई आग्रह गरेको छ ।
उत्पादनको लेबलमा उल्लेख हुने सचेतना सन्देश अनुसार बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहका बिरामी र क्याफिनले असर गर्ने व्यक्तिले इनर्जी ड्रिंक्स सेवन गर्नु हुँदैन । यसैगरी उपभोग गर्न मिल्ने सामान्य व्यक्तिले पनि एक दिनमा ३ सय ३० मिलिलिटरसम्मका दुई क्यानभन्दा बढी इनर्जी ड्रिंक्स पिउन नहुने विभागको सुझाव छ ।
साथै इनर्जी ड्रिंक्सलाई पानी, जुस, दूध, मोहीजस्ता पौष्टिक पेय पदार्थको सट्टामा सेवन नगर्न र अन्य कुनै पनि पेय पदार्थमा मिसाएर नखान पनि विभागले अनुरोध गरेको छ ।
विभागले इनर्जी ड्रिंक्सका उत्पादक तथा विक्रेताहरूलाई विज्ञापन गर्दा अनिवार्य प्रचलित कानुन बमोजिम अनुमति लिन र उपभोक्ताका लागि सुरक्षित मात्रासहित सचेतना सन्देश प्रसारण गर्न निर्देशन दिएको छ ।
यसका साथै सञ्चारमाध्यम लगायत सरोकारवालालाई सर्वसाधारणमा भ्रम र त्रास सिर्जना नहुने गरी वैज्ञानिक तथ्यमा आधारित रहेरमात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ ।















