जकपुरधाम । जनकधाममा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु र चारजना घाइते भएपछि स्थानीय आक्रोशित हुँदै आन्दोलित भएका छन् । जनकपुर उपमहानगरपालिका-२३ विन्हीमा आज बिहान भएको दुर्घटनाको विरोधमा स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेका छन् ।
उनीहरु सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । ठक्कर दिने बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै आश्रुग्याँस समेत प्रहार गरेको छ । तर, पनि प्रदर्शनकारी सडकमा आन्दोलन गरिरहेका छन् । प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ । स्थानीय प्रहरीबीचको घम्साघम्सीले अवस्था तनाव्रस्त बनेको छ ।

जनकपुधाम–९ मा रहेको एंजल्स सेकेन्ड्री बोर्डिङ स्कुलको नम्बर नखुलेको बसको ठक्करबाट स्थानीय ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको थियो । बसको ठक्करबाट अन्य ४ महिला घाइते छन् । उनीहरुलाई उपचारका लागि जनकपुरधाम लगिएको छ ।
विवाहका लागि माटो खन्न पोखरीतर्फ गइरहेकी महिलाहरुको समूहलाई तीब्र गतिमा गइरहेको बसले ठक्कर दिएको थियो । अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।














