काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ सत्ता समीकरणबारे तत्काल कुनै निर्णय नगर्ने भएको छ ।
सचिवालय बैठकपछि महासचिव घनश्याम भुसालले एक विज्ञप्ति जारी गर्दै अहिले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ-‘ प्रधानमन्त्री नयाँ निर्णय लिएसँगै मुलुकमा फेरि अर्को राजनीतिक समीकरणमा प्रवेश गरेको छ । नयाँ समीकरणको उद्देश्य, पक्रिया र संरचना अझ स्पष्ट भइसहेको छैन । तसर्थ प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, पक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तीनको गुण–दोषको आधारमा नेकपा एकीकृत समाजवादीले आफ्ना नीतिहरू स्पष्ट पर्नेछ ।’
आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले नेकपा एसलाई पनि सँगै लैजाने निर्णय गरेको थियो । यसमा एमालेको धारणा भने बाहिर आएको छैन ।
बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले चालेका कदमको सम्भावना, राम्रा नराम्रा पक्षहरूको विश्लेषण गरेरमात्रै निर्णय गर्ने बताए । उनले भने, ‘आजमात्रै अप्रत्याशित रूपमा घटना घटेकाले धेरै कुरा प्रस्ट हुन बाँकी छ ।’
समीकरण फेरिएपछि सरकारमा रहेका मन्त्रीहरूले सरकार छाड्नु स्वाभाविक भएको उल्लेख गर्दै त्यसलाई कुनै अन्यौलताको रूपमा नलिएको खतिवडाले सुनाए ।














