
काठमाडौं । पोखरास्थित एक सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीन जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–९ न्यूरोडमा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना तथा अपचलन अभियोगमा सञ्चालक समितिका अध्यक्ष सुवर्णमान नकर्मी, सदस्य एवं ऋण संयोजक कृष्णमान श्रेष्ठ र सन्दीप पौडेल पक्राउ परेका हुन् ।
सञ्चालक समितिका पदाधिकारीहरूले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, रकम अपचलन एवं ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा निवेदन दिएका थिए ।
हाल सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भई अनुसन्धान चलिरहेको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए।














