Logo
Logo

कांग्रेस- गृहमन्त्रीले राजीनामा नदिई हुँदैन, रवि- दिँदै दिन्नँ  


819
Shares

काठमाडौं । अहिले प्रतिनिधिसभा बैठकमा रवि लामिछाने भर्सेस नेपाली कांग्रेसजस्तो देखिएको छ । कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रविको राजीनामा माग गर्दै आएको छ । नयाँ सत्ता समीकरणपछि प्रतिपक्षी बेच्नमा पुगेको कांग्रेसले हरेक प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रविले राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ ।

गत फागुन २१ गते नयाँ राजनीतिक समीकरण बनेपछि चैत्र सात गतेसम्म आठ पटक प्रतिनिधिसभा बैठक बसेका छन् । नयाँ समीकरणपछि पहिलो प्रतिनिधिसभा बैठक फागुन २४ गते बसेको थियो । त्यसपछि फागुन ३० गते, चैत्र एक, दुई, चार, पाँच, छ र सात गते बसेको छ । आठ बैठकमध्ये सात वटा बैठकमा कांग्रेसले गृहमन्त्री रविको राजीनामा माग गरेको छ ।

चैत्र चार गते बसेको बैठकमा भने कांग्रेसले रविको राजीनामा माग्न पाएन । त्यस दिनको बैठक जनता समाजवादी पार्टीकी सांसद मञ्जु शर्मा अन्सारीको निधनको शोक प्रस्ताव पारित गर्दै सकिएको थियो । सहकारी प्रकरणमा मुछिएकाले गृहमन्त्री रविले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने कांग्रेसको अडान छ । 

कांग्रेसले यसरी गृहमन्त्री रविको राजीनामा मग्नुको कारण यही सहकारी प्रकरण भने मात्रै होइन । रास्वपा र रविसँग कांग्रेसको पुरानै दुस्मनी छ । विशेषत तनहुँमा गुमेको विरासत र त्यसमा आफ्नै मान्छे डाक्टर स्वर्णिम वाग्लेलाई लगेर उपनिर्वाचनमा जिताएपछि कांग्रेस रविविरुद्ध आक्रामक हुँदै आएको छ ।

अर्कोतिर, सहकारी प्रकरणमा जोडिएको व्यक्ति भन्दै रविमाथि प्रहार गरिरहेको कांग्रेसले यसैलाई गठबन्धन फुटाउने आधार देखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरण परिवर्तन गरेर प्रतिपक्षी बेन्चमा पु¥याएको रिस पनि कांग्रेसले रविमाथि नै पोखिरहेको छ । रविलाई निसाना बनाएर प्रचण्डलाई नै गलाउने कांग्रेसको रणनीति छ । प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक विश्वासको मत लिनुअघि कांग्रेसले सत्ता गठबन्धन फुटाउने हर प्रयास पनि गरेको थियो । तर, उक्त प्रयास असफल भएपछि ‘के निहुँ पाऊ, कनिका बुक्याऊँ’ भएको कांग्रेसले सहकारी प्रकरणलाई लिएर रविलाई निसाना बनाइरहेको छ ।

यता, बाँसबारी जग्गा प्रकरणमा आफ्ना सांसद विनोद चौधरी अनुसन्धानको दायरमा आएपछि  कांग्रेसलाई असह्य भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको तथ्य खुलेको छ । त्यसैले गृहमन्त्री रविले पनि कांग्रेसलाई दूधले ननुहाएको पार्टी भनेर टिप्पणी गरेका छन् ।

कांग्रेसको गृहमन्त्रीको राजीनामालाई पहिलो एजेन्डा बनाएपछि सत्ता गठबन्धनका नेताहरू  पनि रविको बचाउनमा उभिएका छन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको बचाउ गर्दै कांग्रेस उनलाई बदनाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ । उनले लामिछाने र उनको पार्टी कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको तर्क गर्ने गरेका छन् ।

त्यस्तै प्रचण्डले पनि रवि बचाउ गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस, जनमोर्चालगायत दलले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाइएको प्रधानमन्त्रीको जवाफ मागेका थिए । ‘आफूतिर आए प्रधानमन्त्री दिने, नआए भ्रष्टाचारी ?’ प्रधानमन्त्रीको जवाफ थियो ।

‘तीनै (रवि लामिछाने)लाई प्रधानमन्त्री बनाउन हिँडेको देखिरहेका छौँ,’ उनले भने, ‘आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी, कारबाही गर्नुपर्छ, यस्तो डबल स्ट्यान्ड ।’

त्यसो त कांग्रेसले अझै पनि सत्तामा फर्किने दाउ जारी राखेको छ । उसले प्रदेश सरकारमा अड्को थापेर बसिरहेको छ । सुदूरपश्चिम, गण्डकी र कोशीमा सत्ता यात्रालाई लम्ब्याउन सकिन्छ की भन्ने ध्यानमा कांग्रेस रहेको छ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीभित्र आन्तरिक विवाद बढ्ने गरी कांग्रेसले भएभरका सांसदलाई मन्त्री पद बाँडिरहेको छ । यता, गण्डकी भने कुनैबेला सत्ता गठबन्धनको तर्फबाट मन्त्री सिफारिस भएका दीपक मनाङे मालदार मन्त्रालयको जिम्मेवारी दिएको छ ।

कोशीमा संविधानको अन्तिम विकल्प धारा १६८ को उपधारा ५ बमोजिम सरकार बनेको स्थितिमा कांग्रेसले मध्यावधिको चेतावनी दिइरहेको छ । तर, सरकार गठन हुने स्थितिसम्म यस्तो हुनै नसक्ने सर्वोच्चको व्याख्यालाई कोशी सरकारले बटम लाइन बनाएर सत्तामै टाँसिने काम गरिरहेको छ । प्रदेश सरकारबाटै केन्द्रको सत्तामा फर्किएको कांग्रेस जस्तोसुकै तिकडम गरेर भएपनि प्रदेश सरकारमा अड्किने दाउ हेरिरहेको छ ।

सत्ता गठबन्धन भत्किनुमा आन्तरिक बाह्य चलखेलका साथै कांग्रेसको आन्तरिक राजनीतिमा इतर पक्ष हाबी हुनु पनि थियो । कांग्रेस नेतृत्वले समीक्षा गर्दै राजनीतिक नेतृत्वको दुरदर्शीता पुगेन कि भन्ने विषयमा भन्दा पनि रविलाई निसाना बनाएर फेरि सत्तामा फर्कने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्