
काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजविरुद्ध कीर्तिमानी २२५ रन बनाएको छ । कीर्तिपुरस्थित टीयु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो ।
एनपीएलको इतिहासमा यो अहिलेसम्मकै ठूलो स्कोर हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो । पोखरा एनपीएलमा एकै सिजन दुई पटक २०० भन्दा माथिको रन बनाउने पहिलो टिम बनेको छ । यसअघि कर्णाली याक्सविरुद्ध पोखराले २१७ रन बनाएको थियो ।
पोखराका लागि कुशल भुर्तेल शतक बनाउनबाट १ रनले मात्र चुके । उनले सर्वाधिक ९९ रन बनाए । ५१ बल खेलेका भुर्तेलले ८ चौका र ८ छक्का प्रहार गरे । ओपनर युवराज सम्राले ५५ बल खेल्दै ८ चौका र ५ छक्का मदतमा ८९ रन बनाए । कप्तान चमिका करुणारत्नेले ७ बल खेल्दै १ चौका र २ छक्का मदतमा अविजित १९ रन जोडे । धनन्जय लक्षण २ रनमा अविजित रहे ।
ओपनर अर्जुन कुमाल ५ रन बनाएर तेस्रो ओभरको दोस्रो बलमा आउट भएपछि कुशल भुर्तेल क्रिजमा पुगेका थिए । त्यसपछि ओपनर सम्रा र भुर्तेलले आक्रमक ब्याटिङ गर्दै पोखराको स्कोर २०० कटाएका हुन् । कुशल र युवराजले दोस्रो विकेटका लागि एनपीएलको कीर्तिमानी १८६ रनको साझेदारी गरेका थिए । एनपीएलमा यो अहिलेसम्मको ठूलो साझेदारी हो ।
यसअघि २०२४ मा भएको एनपीएलको पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए । काठमान्डुका कप्तान करण केसीले १९औं ओभरमा कुशल र युवराज दुवैलाई आउट गरेका थिए । कप्तान करणले २ तथा जहानदाद खानले १ विकेट लिए ।


















