Logo
Logo

महरालाई हाजिरी जमानीमा छाड्ने तयारी


1.6k
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय सअनुसन्धान ब्यूरो (सीआई)ले पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरेको छ । सीआईबीका अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर महरालाई हाजिरी जमानीमा छाड्न लागिएको हो ।

महरा पक्राउ परेको दिनदेखि नै नर्भिक अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था कमजोर रहेको र बयान लिने क्रममा डिस्चार्ज गरेर लैजाने, बयान सकिएपछि पुनः भर्ना गर्ने गरिएको थियो । महरालाई घाँटीको टीबीदेखि मस्तिष्कको नशासम्म समस्या छ । उनी हिड्न समेत नसक्ने अवस्थामा रहेको अनुसन्धानमा रहेका एक अधिकृत बताउँछन् ।

सीआईबी प्रमुख तथा एआईजी श्यामलाल ज्ञवालीले कार्यालय खुलेपछि म्याद थप गर्ने वा हाजीरी जमानीमा छाड्ने निर्णय हुने बताए । महरासँग सीआईबीले बुधबार र बिहीबार दुई दिनमा बयान लिइसकेको छ ।

गत चैत ५ गते कपिलवस्तुबाट पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न सीआईबीलाई अनुमति दिएको थियो । अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको थियो । सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षका लागि थुनामा छन् ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतमा गठित सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी गठित जाँचबुझ आयोगले घटनामा संलग्न रहेको भन्दै महराविरुद्ध थप अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेपछि उनलाई सिआइबीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्