
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग दोहो¥याउँदै आज पनि सदन अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए ।
पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको भन्दै आक्रोश पोखे । गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा छानबिन हुनुपर्ने भन्दै सांसद गौतमले छानबिन भइरहेको व्यक्तिलाई नै गृहमन्त्रीको कुर्सीमा राखिएको जिकिर गरे । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी घोटलामा छानबिन गर्ने र दोषी उम्किन नदिने प्रतिवद्धता जनाएपनि सरकार फेरिएसँगै परिस्थिति फेरिएको उनको टिप्पणी थियो ।
‘कांग्रेसले उठाएका कुरालाई सत्ता पक्षले गम्भीरतापूर्वक लिएको छैन । हामीले राजनीतिक पूर्वाग्रहमा उठाएका हैनौं । त्यतिखेर तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोषी उम्किन दिँदैनौं भन्नु भएको थियो । अहिले सरकार फेरियो परिस्थिति फेरियो,’ उनले भने, ‘जसमाथि छानबिन भइरहेको थियो । उहाँ नैगृहमन्त्रीको कुर्सीमा उभिनुभयो । प्रधानमन्त्रीले न्यायाधीशजस्तो क्लिन चिट दिनुभयो । सुरक्षा निकायका प्रमुखले पनि फासफुस ढंगले क्लिन चिट दिनुभयो । हामीले उठाएका सवालमा गम्भीर प्रश्न जन्मियो । संसदीय छानबिन समितिको माग आज पनि जारी छ ।’














