सरकारले पेट्रोलको भाउ बढाएको छ । सोमबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको हो । निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो ।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ । डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ । डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ ।
तर निगमलाई ग्यासमा अझै पनि २९६ रूपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको भाउ यथावत राखिएको जनाएको छ । डिजेल र मट्टीतेलको भाउ पनि यथावत छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा पेट्रोलको भाउ १७२ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १७४ रूपैयाँ प्रतिलिटर पर्नेछ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १७५ रूपैयाँ प्रतिलिटर पर्नेछ ।














