काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले गृहमन्त्रीलाई संसदमा जवाफ दिन नदिएर कांग्रेसले गलत गरेको बताएका छन् ।
उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिनिधिसभामा उपप्रधानमन्त्री तथा गृहमन्त्रीमाथि लागेका आक्षेप र उठेका प्रश्नबारे जवाफ दिन नपाउनुले कांग्रेसको व्यवहार असहिष्णु र अनुदारवादी देखिएको उनले बताए ।

उनले भने, ‘माननीय गृहमन्त्रीजीले तपाईंहरुले यति धेरै आक्षेप लगाउनुभएको छ यो हलभित्र, म रोष्ट्रममा उभिएर जवाफ दिन चाहन्छु भन्दा उहाँलाई निषेध, यो हदसम्मको असहिष्णुता, यो अनुदारवाद कहाँबाट आयो ? कस्तो संस्कृति बसाउन खोज्दैछौं हामीले यो असाध्यै चिन्ताजनक छ ।’
उनले विगतमा कांग्रेसका मन्त्रीमाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएको विषयमा प्रश्न उठ्दा राष्ट्रिय स्वतन्त्र पार्टीले राजीनामा नमागेको र जवाफ सुन्न तयार भएको पनि बताए । आरोप लाग्नासाथ राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति गठन गर्ने नियम बनाउन कांग्रेस तयार हो भन्दै उनले प्रश्नसमेत गरे ।
सांसद वाग्लेले भने, ‘संसदीय छानबिन गर्न आपत्ति होइन, कस्तो नजिर स्थापना गर्न गइरहेका छौं भन्ने हामीले विचार गर्नुपर्ने हुन्छ । सर्वदलीय सहमति गरौं, आरोप लाग्नासाथ सबले राजीनामा गरौं, मन्त्रीले मात्र होइन, सांसदले पनि राजीनामा गरौं । राजीनामा दिने र संसदीय समिति गठन गर्ने यो नजीर स्थापना गर्न कांग्रेस तयार हो ?’














