काठमाडौं । नेपाल वायु सेवा निगमका बहालावाला र पूर्व गरी १७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुलाई झन्डै डेढ अर्ब रुपैयाँ सरकारलाई हानी नोक्सानी पुर्याएको आरोपमा छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो अनुसन्धानपछि बिहीबार विशेष अदालतमा छुट्टाछुट्टै मागदावी लिएर मुद्दा दर्ता गरेको हो ।
आयोगका अनुसार भ्रष्टाचार प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव शिशिरकुमार ढुङ्गाना, मन्त्रालयकै बहालावाल सहसचिव एवम् नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धि सागर लामिछाने लगायत १७ जना राष्ट्र सेवक कर्मचारीको संलग्नता देखिन्छ ।
उनीहरू विमानको प्राविधिक स्पेसिफिकेशन र त्यसलाई मापन गर्ने स्पष्ट मापदण्ड नखुलाई सार्वजनिक खरिद ऐन, २०६३ विरुद्ध गएर वाइडबडी ल्याउने अमेरिकन कम्पनी अमेरिकाको एएआर इन्टरनेसनल, जर्मन एभिएसन क्यापिटल र हाइफ्लाई एरोज पोर्चुगल कम्पनीलाई भुक्तानी दिन संलग्न रहेको अभियोग आयोगको छ ।
आपूर्तिकर्ता कम्पनीसँगको मिलेमतोमा कर्मचारीहरूले खरिद सम्झौता गर्दा कागजात तयार पार्ने देखि भुक्तानी दिँदासम्म ऐन नियम मिचेको आरोप आयोगको छ ।
आयोगले कसुरका आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असुल उपर गर्ने मागदावी लिएको छ ।
त्यस्तै उनीहरुले सार्वजनिक खरिद कानुन बमोजिम गैर–उत्तरदायी प्रस्तावलाई स्वीकृतिको लागि सिफारिससहितको गलत लिखत पेश गरेर निगमलाई एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ रुपैयाँ ८५ पैसा हानी नोक्सानी पुर्याएको अभियोग आयोगको छ ।
आयोगले सार्वजनिक पदमा रहेर पनि भ्रष्टाचारलाई मलजल गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिमसमेत कैद र जरिवाना सजाय मागदावी लिएको जानकारी आयोगका प्रवक्ता नरहरि घिमिरेले दिए ।
यी हुन् मुद्दा पर्ने बहालवाला र पूर्व कर्मचारी
१, पूर्व सचिव शिशिर कुमार ढुङ्गाना (भन्सार विभागका पूर्व महानिर्देशक एवं निगमको सञ्चालक समिति सदस्य)
२, सहसचिव बुद्धिसागर लामिछाने (बहालवाला)
३, जीवन प्रकाश सिटौला (सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक एवं निगमको सञ्चालक समिति सदस्य)
४, रामहरि शर्मा सेढाँई (निगमका तत्कालीन कामु निर्देशक)
५, जनकराज कालाखेती (बहालवाला नायब महाप्रबन्धक)
६, प्रभाशकुमार कर्माचार्य (तत्कालीन उपनिर्देशक)
७, गणेशबहादुर चन्द (तत्कालीन कामु निर्देशक)
८, कर्णबहादुर थापा (तत्कालीन कामु निर्देशक)
९, सुवास रिजाल (बहालवाला वरिष्ठ क्याप्टेन)
१०, रमेशबहादुर शाह (तत्कालीन नायब महाप्रबन्धक)
११, रवीन्द्रकुमार शेरचन्द (बहालवाला वरिष्ठ क्याप्टेन)
१२, रवीन्द्र श्रेष्ठ (तत्कालीन कामु निर्देशक)
१३, उपेन्द्र पौडेल (बहालवाला निर्देशक)
१४, श्रवण रिजाल (बहालवाला निर्देशक)














