काठमाडौं । आगामी वैशाख १५ गते तय भएको इलाम–२ को उपनिर्वाचनले यतिबेला देश नै निर्वाचनमय भएको छ । दलहरूले उम्मेदवार खडा गरी चुनावी प्रचार र घरदैलो कार्यक्रमलाई तीव्र पारिरहेका छन् ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पहिचान पक्षधरका उम्मेदवारहरूले चुनावी प्रचार तीव्रता दिएका छन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने आज (बिहीबार) मात्र उम्मेदवार टुंगो लगाएको छ ।
यता सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले भने इलाम-२ मा उम्मेदवारी नै नउठाउने निर्णय गरेको छ । माओवादी केन्द्रले एमालेकै उम्मेदवार सुहाङ नेम्वाङलाई सहयोग गर्ने जनाएको छ ।

इलाम-२ को उपनिर्वाचनलाई विशेषतः एमाले, कांग्रेस र रास्वपाले प्रतिष्ठाको विषय बनाएका छन् । एमालेलाई पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको विरासत जोगाउनु छ । त्यसैले उनकै कान्छा छोरा सुहाङलाई एमालेले उम्मेदवार बनाएको छ ।
कांग्रेसलाई भने साढे दुई दशकदेखिको एमालेको गढ भत्काउनु छ । त्यस्तै ०७९ मंसिर ४ को निर्वाचनमा झिनो मतान्तरको हारको बदला लिनु छ । ०७९ मंसिर भएको निर्वाचनमा एमालेका उम्मेदवार स्वर्गीय नेम्वाङसँग कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का ११४ मतान्तरले मात्र पराजित भएका थिए ।
कांग्रेसले यस उपनिर्वाचनमा पनि उनै खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेका छ । बुबा सुवाससँग पराजित भएको खड्का उपनिर्वाचनमा उनकै छोरा सुहाङसँग भिड्दै छन् । उनलाई बुबासँगको हारको बदला छोरासँग लिनु छ ।
यता, गत आमनिर्वाचनबाट उदाएको रास्वपालाई भने पूर्वबाट पनि उदाउनु छ । रास्वपाले पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । उनी, पूर्वमाओवादी हुन् ।
माओवादीले उम्मेदवार नै नदिने निर्णय गरेपछि उक्त पार्टीको भोट कसलाई जान्छ भन्ने चासोको विषय बनेको छ । माओवादीले कम्युनिष्टको नातामा र केन्द्रको निर्णयअनुसार सुहाङलाई भोट दिन्छ कि पूर्वमाओवादी मिलन लिम्बूलाई दिन्छ ? या त पहिचानवादीको उम्मेदवारलाई दिन्छ ? यो पक्ष महत्त्वपूर्ण बनेको छ ।
एमालेका उम्मेदवार सुहाङप्रति सकारात्मक तथा नकारात्मक दुवै पक्ष छन् । सकारात्मक पक्ष सुवासको विरासत र सहानुभूतिको भोट हो । नकारात्मक पक्ष वंशवाद र परिवारवाद हो । अर्कोतिर एमालेको एउटा समूह असन्तुष्ट पनि रहेको छ ।
सुहाङ एमालेको सक्रिय राजनीतिमा थिएनन् । अस्ट्रेलिया बसेर फर्किएपछि उनले काठमाडौंमा ‘ल फर्म’ चलाउँदै आएका थिए । इलामको स्थानीय राजनीतिमा दशकौं बिनाअवसर जीवन बिताएका एमाले कार्यकर्ताले यसपटक टिकट पाउने आशामा थिए । तर, सुवासकै छोरा भएको आधारमा सुहाङले टिकट पाएपछि उनीहरू निराश छन् ।
त्यस्तै एमालेलाई पहिचानविरोधिको ट्याग समेत लागेको छ । केही महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओली र स्वर्गीय सुवास इलाम पुग्दा कालो झन्डा देखाउनुको साथै रुख ढालेर बाटोसमेत अवरुद्ध गरेका थिए ।
यता, माओवादीले भने आफूलाई पहिचानवादी पार्टी भनेर दाबी गर्दै आएको छ । आदिवासी जनजाति पत्रकार महासंघका महासचिव समेत रहेको मिलन लिम्बू आफैँ पहिचान आन्दोलनका अभियन्ता हुन् । त्यसैले पहिचानको वकालत गर्ने माओवादीहरूले उनलाई भोट दिन सक्छन् । माओवादीको एक समूह त पूर्वमाओवादी (हाल रास्वपाको उम्मेदवार) मिलन लिम्बूसँगै रहेको छ ।
माओवादीको केहीले भोट भने पहिचानवादीको उम्मेदवार थेगिमलाई जाने आकलन गरिएको छ । आफ्नो उम्मेदवार नउठाई एमालेलाई सहयोग गर्ने माओवादीले जनाएको पनि माओवादीको भोट तीनतिर बाँडिने निश्चित छ ।
२०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा सबैभन्दा धेरै एमालेले २६ हजार पाँच सय ६२ मत पाएको थियो । त्यसपछि नेपाली कांग्रेसले २२ हजार तीन सय ३३, माओवादी केन्द्रले पाँच हजार एक सय ५३ र रास्वपाले चार हजार छ सय ६८ मत पाएको थियो ।
पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएको र संगठन नै नभएको इलाममा रास्वपाले चार हजार बढी भोट ल्याउनुलाई अप्रत्याशित मानिएको छ । अहिले देश र जिल्लाको राजनीति गत आमनिर्वाचनकै सेरोफेरोमा पनि छैन । विशेषतः देशमा रास्वपाको उदय र पूर्वमा कोशी प्रदेश पुनः नामाङ्कन आन्दोलनले परिस्थितिलाई फरक बनाएको छ । यसबाहेक गत चुनावको भन्दा यसपटक दलीय समीकरण फेरिएको छ ।
रास्वपा उम्मेदवार मिलन लिम्बूले जित्न भने तनहुँ र चितवनको जस्तै ठूलो राजनीतिक उलटफेर हुने देखिन्छ । यसले मिसन–८४ चलाएको रास्वपालाई ठूलो उपलब्धि हुनेछ । रास्वपाले जिते एमालेको भविष्यमाथि पनि ठूलो अर्थ राख्दछ । उसको साढे दुई दशकदेखि गढ ढल्ने छ । त्यस्तै एमालेमा रहेको लामो समयदेखिको परिवारवादमा पनि धक्का लाग्नेछ । अर्कोतिर पुराना दलहरूलाई अब सच्चिनु पर्ने भन्ने ठूलो सन्देश जानेछ ।
नेपाली कांग्रेसका लागि भने यो निर्वाचन क्षेत्र साखै अर्थपूर्ण रहँदैन । किनकि विगत ३ दशकयता कांग्रेसले त्यहाँ ५ पटक हारेको छ । कांग्रेस हा¥यो भने पुरानै हारको पुनरावृत्ति मात्र हुनेछ । तर, कांग्रेसले जित्यो भने थप उपलब्धि हुनेछ ।














