
काठमाडौं । गत बैशाखमा घरेलु मैदानमा सम्पन्न आइसीसी विश्वकप लीग-२ को दुई शृङ्खलामा ६ खेल जितेपछि उत्साहित बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले नेदरल्यान्ड्समा पुग्दा निराश बनेको छ । नेदरल्यान्ड्समा नेपाली टोली निराश मात्रै होइन आत्मविश्वास पनि गुमाएको अवस्था पुगेको छ ।
नेदरल्यान्ड्समा जारी आइसीसी विश्वकप लीग २ को सातौँ शृङ्खलामा नामिविया र नेदरल्यान्ड्ससँग लगातार २ खेलमा पराजित भएसँगै नेपालको विश्वकप ग्लोबल क्वालिफायरमा सिधै प्रवेश गर्ने यात्रा निकै कठिन बनेको छ ।
यो सँग९सँगै नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता समेत धरापमा परेको छ । नेदरल्यान्ड्स भ्रमण नेपालको एक दिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने अन्तिम अवसरको रूपमा हेरीएको छ ।
तर, टोलीले दुई खेलबाट चार अङ्क गुमाइसकेको छ । नेपालको अङ्क तालिकामा जम्मा २४ अङ्क छ र टोली तालिकाको पाँचौँ स्थानमा रहेको छ । माथिल्लो स्थानमा रहेका टोलीहरूको स्थिति हेर्दा नेपालको माथि उक्लिने सम्भावना निक्कै कमजोर बन्दै गएको छ । शीर्ष चार टोलीले मात्र ग्लोबल क्वालिफायरमा सिधै प्रवेश पाउने छन् ।
विश्वकप लीग २ मा नेपालले अब जम्मा ६ खेल मात्र खेल्न बाँकी रहेको छ । आठ राष्ट्र सहभागी विश्वकप लीग २ मा सहभागी सबै टोलीले ३६ खेल खेल्ने छन् । जसमा ३० खेल खेलेको नेपाल अहिले २४ अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ । ३२ खेल खेलेको अमेरिका ४३ अङ्कको साथ पहिलो स्थानमा छ भने त्यति नै खेल खेलेको स्कटल्यान्ड ३८ अङ्कका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले २९ खेलबाट ३४ अङ्क जोडेको छ भने २८ खेलबाट ३१ अङ्क बटुलेको ओमान चौथो स्थानमा छ ।
नेपालसँग समान २४ अङ्क लिएर क्यानडा छैटौँ र नामिविया सातौँ स्थानमा रहेको छ । तर, क्यानडाले नेपालले भन्दा २ खेल र क्यानडाले १ खेल कम खेलेको छ । अन्तिम स्थानमा भने युएई रहेको छ । जसको १४ अङ्क मात्र छ ।
यो समीकरण हेर्दा पहिलो र दोस्रो स्थानमा रहेको अमेरिका र स्कटल्यान्डलाई नेपालले बाँकी सबै खेल जिते पनि भेट्टाउन सक्दैन । अर्थात् यी दुवै टोली ग्लोबल छनोटमा पुगिसकेका छन् ।
नेदरल्यान्ड्सलाई पनि अबको एक जितले ग्लोबल छनोटमा पु¥याउन सक्छ । नेपालले ओमानलाई उछिन्दै चौथो स्थानमा उक्लिन सक्छ । तर त्यसको लागि नेपालले बाँकी सबै खेल जित्ने र ओमानले सबै खेल हार्नुपर्ने हुन्छ ।
नेपाली टोलीले ब्याटिङमा यो सिजनभर निकै खराब देखिएको छ । अवे म्याच पनि नेपाललाई फाइदाकारी बन्न सकेन । जसमा घर बाहिर खेलेको १८ खेलमा १२ खेलमा पराजय भोग्नु परेको छ ।
नेपालले गत वैशाख जेठमा नेपालमा भएको दुई शृङ्खला (ओमान र यूएई) तथा (स्कटल्यान्ड र अमेरिका) मा महत्त्वपूर्ण बन्यो। त्यसमा खेलिएको ८ मध्ये ६ खेल जितेर नेपाल सातौँ बाट पाँचौँ स्थानमा उक्लिएको थियो ।
र, शीर्ष ४ मा रहनका लागि नेदरल्यान्ड्सको भ्रमण नेपालको लागि अन्तिम मौका जस्तै बनेको थियो । नेपालले अब नेदरल्यान्ड्समा दुई खेल खेल्न बाँकी छ ।
त्यसपछि नेपालले अन्तिम शृङ्खलाको रूपमा ओमान र क्यानडासँग खेल्ने तालिका छ । नेपाललाई अर्को मौका बाँकी नै छ । लीग २ मा शीर्ष ४ मा रहन असफल चार टोलीले क्वालिफायर प्ले अफ खेल्ने छन् ।
प्ले अफमा च्यालेन्ज लीग खेलिरहेका ४ टोली र लीग २ बाट झरेका ४ गरी ८ टोलीबीच भिडन्त हुने छ। च्यालेन्ज लीगमा १२ टोलीबीच २ समूह बनाएर प्रतिस्पर्धा भइरहेको छ । त्यहाँबाट जर्सी, कुवेत, युगान्डा र इटलीले राम्रो गरिरहेका छन् । हङकङ र पपुवा न्युगिनीले तिनीहरूलाई पछ्याइरहेका छन् ।
समग्रमा नेपालले यदि शीर्ष ४ मा रहने सम्भावना जीवित राख्ने हो भने जारी शृङ्खलाको २ खेल जित्नु पर्ने छ भने त्यसपछि अन्तिम शृङ्खला जित्नुपर्ने छ ।
नेपालको ब्याटिङ र बलिङ दुवै कमजोर
नेपाली टोलीको पछिल्लो प्रदर्शनलाई हेर्ने हो भने नेपालको खेलमा ब्याटिङ र बलिङमै कमजोरी देखिएको छ । यसको अलावा नेपाली टोलीको आत्माविश्वाशमा पनि कमी देखिएको छ । नेदरल्यान्ड्समा चलिरहेको खेलमा नेपाली ब्याटरको धैर्यतामा कमी देखिएको छ । नेपाल मुख्य ब्याटहरुनै रन जोड्नका लागि सङ्घर्षरत देखिन्छ ।
नेदरल्यान्ड्स र नामिविया दुवै टोलीसँगको खेलमा नेपालको सुरुवाती ब्याटिङ कोल्याप्स भयो । मध्यम क्रममका ब्याटरले इनिङ सम्हाल्ने प्रयास गरे पनि त्यसले टोलीलाई हारबाट जोगाउन सकेन । नेपालको खेल ओपनिङ ब्याटरेको हातमा रहेको अवस्थामा कुशल भुर्तेल र आशिफ शेखको ब्याट नचल्दा नेपाले खेल मात्रै होइन, विश्वकप देखी ओडिआई स्ट्याटससम्म पनि गुमाउने खतरामा परेको छ ।
कप्तान र उपकप्तान रहेका रोही कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीको पनि कप्तानी पारी नआउनुले नेपाली टोली कोल्याप्स भएको हो । दुई खेलमा कप्तान पौडलले जम्मा ३४ रन जोडेका छन् । पौडेलनै नेपाली टोलीका मध्यमक्रमका ब्याटर हुन् । उनले नत ब्याटिङ सम्हाल्न सके नत इनिङ ।
टोलीमा दुई नम्बरको क्रमका लागि सधैँ परीक्षण हुँदै आएको यस सिजनमा ईशान पाण्डेलाई टोलीले अवसर दिएको थियो । पाण्डेले पनि टोलीका लागि नत रन बनाउन सके नत इनिङ नै विल्डब गर्ने सकेँ ।
नेपाली टोलीको गेम चेन्जर सन्दीप लामिछानेको प्रदर्शन नआउनु पनि नेपालको टाउको दुखाई बनेको छ । जादुगर बलिङ गर्ने लामिछानेले दुई खेलमा कुनै विकेट पनि हात पार्न सकेका छैन । विपक्षी टोलीले बलिङ मार्फत नेपाली टोलीलाई कसेर राखेको अवस्थामा बलियो मानिएको नेपालको बलिङ ल्याइन भने विपक्षीलाई दबाबमा राख्न सकिरहेको छैन ।














